तपाईँ सुन्दै हुनुहुन्छः

पूर्वाग्रह राखेर कसैको सरुवा हुँदैन : मन्त्री मोदी

काठमाडौँ । संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री अमन लाल मोदीले पूर्वाग्रहकाे भावना राखेर मन्त्रालयले कसैको पनि सरुवा नगर्ने समेत बताउनुभएको छ ।

नेपाल राष्ट्रिय कर्मचारी सङ्गठन निजामती संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको पाँचौँ विभागीय अधिवेशनलाई सम्बोधन गर्दै मन्त्री मोदीले यस्तो बताउनुभएको हो । 

“निजामती प्रशासनभित्रका बेथिति सुधार गर्नुपर्छ भन्दा केही मान्छेहरूमा छटपटी भएको छ” उहाँले भन्नुभयो, “वृद्धि विकासका लागि पनि एकै ठाउँमा बसिरहने कुरा राम्रो होइन, तर मेरो प्रष्ट कुरा के छ भने पूर्वाग्रह राखेर कसैको पनि सरुवा गर्दैनौँ ।”

निजामती प्रशासनभित्रको बेथितिलाई सुधार गर्ने घर नै सामान्य प्रशासन मन्त्रालय भएको भन्दै मन्त्री मोदीले भन्नुभयो, “केही सुधार त गर्नैपर्छ, सही सुझाव र सल्लाहका लागि मेरो ढोका सदैव खुला छ ।”

“तपाईँहरू आस्था र विचारको हिसाबले कुनै एउटा दलसँग नजिक हुनुहोला तर म भन्न चाहन्छु, तपाई हाम्रो एउटै पार्टी भनेको देश र जनताको सेवा गर्नु हो” उहाँले बताउनुभयो ।

मन्त्री मोदीले आफूले सबैलाई न्यायको आँखाले हेर्ने समेत बताउनुभयो । उहाँले भन्नुभयो, “मेरा लागि सबै बराबर हो, कसैप्रति मेरो आग्रह र पूर्वाग्रह रहँदैन, सबैलाई म न्यायको आँखाले हेर्छु ।”

मन्त्री मोदीले कर्मचारीहरू जनताको सेवाभन्दा बढी राजनीतिमा क्रियाशील भएको गुनासो बढिरहेकाले पहिलो जनताको कामलाई प्राथमिकतामा राख्न समेत निर्देशन दिनुभयो । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button