तपाईँ सुन्दै हुनुहुन्छः

अछामको मेल्लेखमा एक वडा एक उत्पादन कार्यक्रम शुरु

अछाम । मेल्लेख गाउँपालिकाका अध्यक्ष ज्वाला सिंह साउदले गाउँपालिकाले ‘एक वडा एक उत्पादन’ कार्यक्रम सञ्चालन गरिने बताउनुभएको छ । कृषि क्षेत्रको विकासका लागि ‘एक वडा एक उत्पादन’ कार्यक्रम सञ्चालन गर्ने गाउँपालिकाको नीति रहेको धारणा व्यक्त गर्नुभयो । मेल्लेख गाउँपालिका वडा नं.८ हात्तिकोट स्थित मसला उत्पादन तथा प्रशोधन एवम् मेसिन हस्तान्तरण कार्यक्रमको उद्घाटन गर्दै अध्यक्ष साउदले अभियानको सुरुवात हात्तिकोटबाट सुरु गरिएको बताउनुभयो । 

कृषि व्यवसाय मार्फत स्थानीयवासीलाई आत्मनिर्भर बनाउने गरी सो कार्यक्रम सञ्चालनको सुरुवात गरिएको अध्यक्ष साउदको भनाई रहेको छ । गाउँपालिकामा साना तथा मझौला उद्योग स्थापनाको लागि ८ वटै वडामा मेसिन पुगिसकेको उक्त कार्यक्रममा जानकारी समेत दिनुभएको छ । ‘एक वडा एक उत्पादन कार्यक्रम अन्तर्गत ऋषिदमा पाईने कच्चा पदार्थको प्रशोधन गरेर शोडषमा अल्लो प्रशोधन, ऋषिदहमा आलु चिम्स उद्योग, वडा नं. ८ हात्तिकोटमा मसाला उद्योग र वडा नं.४ कुष्कोटमा अचार उद्योग स्थापना गर्ने गाउँपालिकाको उद्देश्य रहेको जानकारी दिनुभएको छ । 

हात्तिकोट, कुष्कोट, नन्देगडामा प्रशस्त मात्रामा रहेको भीमलको रेशाबाट पनि कपडा उत्पादन गर्ने गरी काम अघि बढाइने जानकारी दिनुभयो । उद्यमी बन्नको लागि गाउँपालिका लगानी गर्न तयार रहेको बताउँदै अध्यक्ष साउदले इच्छाशक्ति देखाउन आग्रह गर्नुभएको छ । 

मसला उत्पादन तथा प्रशोधन एवम् मेसिन हस्तान्तरण कार्यक्रम जिल्ला प्रशासन कार्यालयका प्रशासकीय अधिकृत मिनराज आचार्य, मेल्लेख गाउँपालिका शिक्षा शाखाका प्रमुख विरेन्द्र खड्का, हात्तिकोटका वडा अध्यक्ष महेश ठकुल्ला, नेपाल पत्रकार महासङ्घका सुदूरपश्चिम प्रदेश सदस्य तपेन्द्र कुँवर, महासङ्घका जिल्ला अध्यक्ष खम्म खत्री लगायतको सहभागिता रहेको थियो । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button