तपाईँ सुन्दै हुनुहुन्छः

भौतिक संरचनाले मात्रै शिक्षाको गुणस्तर वृद्धि नहुने मेयर कोइरालाको भनाई

विराटनगर । विराटनगर–७ स्थित गायत्री संस्कृत माध्यमिक विद्यालयको चारकोठे पक्की भवन निर्माण हुने भएको छ । 

राष्ट्रपति शैक्षिक सुधार कार्यक्रमअन्तर्गत निर्माण हुने भूकम्प प्रतिरोधी चारकोठे भवनको बिहीबार एक समारोहकाबीच विराटनगर महानगरपालिकाका मेयर नागेश कोइरालाले शिलान्यास गर्नुभयो । 

४५ लाख रुपैयाँको लागतमा निर्माण हुने भवन आगामी असार २५ गतेभित्र निर्माण सम्पन्न गरिसक्नु पर्नेछ । भवन निर्माण भएपछि विद्यार्थीलाई अध्ययन गर्न सहज हुने विद्यालयका प्रधानाध्यापक चूडामणि नेपाल ‘अकिञ्चन’ले बताउनुभयो । उहाँका अनुसार विद्यालयमा साढे ३ सय विद्यार्थी अध्ययनरत छन् । “यो विद्यालय सरस्वती मन्दिरको काखमा रहेको छ । यसको विकासका लागि सरस्वती मन्दिर र विद्यालयले हातेमालो गरेर अगाडि बढ्नुपर्छ,” प्रअ नेपालले भन्नुभयो । 

शिलान्यास कार्यक्रमलाई सम्बोधन गर्दै मेयर कोइरालाले शैक्षिक क्षेत्रको सुधारका लागि महानगरपालिकाले काम गरिरहेको बताउनुभयो । शिक्षाको विकास बिना अन्य क्षेत्रको विकास नहुने धारणा राख्दै मेयर कोइरालाले भौतिक संरचनाले मात्रै शैक्षिक गुणस्तर वृद्धि नहुने उल्लेख गर्नुभयो । “शिक्षाको गुणस्तरलाई भौतिक संरचनासित दाँज्ने गरिएको छ,” मेयर कोइरालाले भन्नुभयो “तर त्यस्तो होइन । शिक्षकहरूले मन लगाएर पठनपाठन गरे कमजोर भौतिक संरचना भएका विद्यालयको पनि गुणस्तर वृद्धि हुन सक्छ ।” 

त्यस्तै विराटनगर वडा नम्बर ७ का वडाध्यक्ष मधुबाबु तिवारीले विराटनगरका लागि गायत्री संस्कृत विद्यालय फरक किसिमको विद्यालय भएको बताउनुभयो । उहाँले नेपाली भाषाको पनि जननीका रुपमा रहेको संस्कृत भाषाको संरक्षण र सम्वद्र्धनमा गायत्री विद्यालयले महत्वपूर्ण भूमिका निर्वाह गरेको दाबी गर्नुभयो । 

कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष राजेश पोखरेलले दरबन्दीको अभावका कारण सोचजस्तो परिणाम ल्याउन नसकेको गुनासो गर्नुभयो । सो अवसरमा विद्यालयका सहायक प्रधानाध्यापक प्रदीपकुमार चापागाईँ, पूर्व प्रधानाध्यापक युगेश्वर मेहतालगायतले विद्यालयको स्तरोन्नति र गुणस्तर वृद्धिका लागि आफूहरू लागिपरेको बताउनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button