तपाईँ सुन्दै हुनुहुन्छः

सत्तारुढ गठबन्धनको बैठक: सरकारलाई पूर्णता दिनेबारे छलफल

काठमाडौं।सत्ता साझेदार दलहरुबीच संघ र प्रदेश सरकारको भागबन्डा प्याकेजमै गर्न छलफल प्रारम्भ भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सत्ता गठबन्धन आवद्ध प्रमुख दलका शीर्ष नेताको बैठकमा प्याकेजमै सरकारको नेतृत्व र पुनर्गठनको विषय टुंग्याउने छलफल भएको हो ।

बैठकपछि माओवादी केन्द्रका उपमहासचिव शक्ति बस्नेतले प्रदेश सरकारको नेतृत्व र संघीय मन्त्रिपरिषद् विस्तार प्याकेजमै गर्ने विषयमा छलफल भएको जानकारी दिनुभयो । मन्त्रालय बाँडफाँटका विषयमा प्रारम्भिक छलफल सुरु भएको नेताहरुले बताएका छन् ।

कांग्रेस नेता रमेश लेखकले पनि सरकार विस्तार गर्ने विषयमा प्रारम्भिक छलफल भएको बताउदै चाँडो सरकारलाई पूर्णता दिने विषयमै बैठक केन्द्रित भएको जानकारी दिनुभयो । आवश्यकताअनुसार अर्को बैठक बसेर थप निर्णय लिइने उहाँको भनाइ थियो ।

प्रतिनिधिसभाबाट सोमबार दोस्रोपटक विश्वासको मत लिएलगत्तै प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले केही दिनभित्रै मन्त्रिपरिषद् विस्तार हुने बताउनुभएको थियो ।

प्रधानमन्त्री प्रचण्डले संसद्‌मा सिट संख्याका आधारमा मन्त्रालय बाँडफाँटको प्रस्ताव गर्नुभएको बताइएको छ । सत्ता साझेदार दलहरु पनि आन्तरिक तयारीमा जुटेका छन् ।

योगदान र योग्यतालाई मुख्य आधार मान्ने तथा समावेशिता र प्रादेशिक सन्तुलनलाई ध्यान दिएर मन्त्री चयन गर्ने कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिले मापदण्ड बनाएको छ ।

एकीकृत समाजवादीले सरकारमा सहभागी हुने विषयमा गृहकार्य गर्न अध्यक्ष माधवकुमार नेपाल, उपाध्यक्ष प्रमेश हमाल र महासचिव घनश्याम भुसाल रहेको कार्यदल बनाएको छ ।

गृह वा अर्थ मन्त्रालयमध्ये एक आफैंले राख्ने गरी सरकारको नेतृत्व गरेको माओवादी केन्द्रले पहल गरिरहेको छ । अहिले प्रधानमन्त्री प्रचण्डले १६ वटा मन्त्रालयको जिम्मेवारी सम्हाल्दै आउनुभएको छ । यस्तै प्रदेश सरकारको नेतृत्व पनि आलोपालो गर्ने गरी छलफल भैरहेको नेताहरुले बताएका छन् ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button