तपाईँ सुन्दै हुनुहुन्छः

सुर्खेतमा अवैध ढुङ्गा, गिट्टी, बालुवा उत्खननमा प्रहरीको निगरानी बढ्यो

सुर्खेत ।  सुर्खेतका स्थानीय खोला तथा नदीबाट अवैध बालुवा गिटी, ढुङ्गा उत्खनन गर्ने क्रम बढेको छ । 

आफूखुसी नदीजन्य पदार्थ उत्खनन गरी चोरी निकासी बढेपछि सुर्खेत प्रहरीले निगरानी बढाएको हो । 

अवैध बालुवा गिट्टी, ढुङ्गा उत्खनन निकासी कार्यलाई रोक्ने क्रममा जिल्ला प्रहरी कार्यालयले दुई वटा माल बाहक गाडी समेत नियन्त्रणमा लिएको जनाएको छ । 

सुर्खेतका प्रहरी प्रमुख (एसपी) योगेन्द्रसिंह थापाले जिल्लाका विभिन्न स्थानमा अवैध बालुवा गिट्टी, ढुङ्गा उत्खनन कार्य भइरहेको जानकारी पाइएपछि निगरानी बढाइएको बताउनुभयो । 

उहाँले कानून विपरीत अवैध बालुवा गिट्टी, ढुङ्गा उत्खनन कार्यमा सलग्नहरुको खोजीसँगै नियमन कार्य जारी राखिएको जनाउनुभयो । उहाँले स्थानीय प्रहरीकै मिलेमतोमा बालुवा गिट्टी, ढुङ्गा तस्करी भइरहेको आरोप निराधार रहेको भन्दै कुनै पनि प्रहरीको संलग्नता रहेको पाइए कडा कारबाही हुने बताउनुभयो । 

अवैध नदीजन्य पदार्थ दोहन भइरहेको जानकारी जोकोहीले पाउने बित्तिकै प्रहरीलाई सूचना दिन समेत उहाँले आग्रह गर्नुभयो । 

यता मनलागी ढंगले ढुङ्गा गिट्टी बालुवा उत्खनन हुन थालेपछि वीरेन्द्रनगर नगरपालिकाले यसै वर्षदेखि मेसिन प्रयोग गर्न नपाइने नियम बनाएको छ ।

प्रत्यक्ष मानव श्रम बेल्चाले बालुवा गिटी, ढुङ्गा उत्खनन गर्दा समय बढी लाग्नुका साथै फाइदा कम हुने हुँदा मेसिनको प्रयोग गरी चोरी तस्करी हुने गरेको स्थानीय बताउँछन् । 

अवैध बालुवा गिटी, ढुङ्गा उत्खनन कार्य रोक्न स्पेसल टास्क फोर्स गठन गरि अनुगमन कार्य बढाइने वीरेन्द्रनगर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत नरहरि तिवारीले बताउनुभयो । नगरपालिकाले गरेको वातावरणीय प्रभाव मूल्याङ्कनमा समेत ढुङ्गा–गिट्टी–बालुवा सङ्कलन कार्यका लागि मेसिनको प्रयोग गर्न नपाइने स्पष्ट उल्लेख गरेको उहाँको भनाइ छ । 

उता सदरमुकाम आसपासका खोला तथा नदीबाट अवैध बालुवा गिट्टी, ढुङ्गा उत्खनन कार्यको नियन्त्रणमा प्रहरीको समेत सक्रियता बढेपछि स्थानीय बासिन्दा हर्षित भएका छन् । 

वीरेन्द्रनगर नगरपालिका, भेरीगंगा नगरपालिका, लेकबेशी नगरपालिका र बराहताल गाउँपालिकाबाट अवैधरुपमा बालुवा गिट्टी, ढुङ्गा उत्खनन गरी चोरी निकासी गर्ने कार्य अहिले पनि रोकिएको छैन । तस्करले दिन मात्र होइन, रातको समयमा खोला तथा नदी किनारमा मेसिन अर्थात् स्काभेटरको प्रयोग गरी अवैध रुपमा बालुवा गिट्टी, ढुङ्गाको उत्खनन कार्य जारी राखेको स्थानीय बताउँछन् ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button