तिलोत्तमा गोल्डकप : पुलिसलाई हराउँदै मनाङ मर्स्याङ्दी सेमिफाइनलमा
रुपन्देही । बुटवलमा जारी २२ औँ तिलोत्तमा गोल्डकपमा विभागीय टिम नेपाल पुलिस क्लबलाई हराउँदै मनाङ मर्स्याङ्दी क्लब सेमिफाइनल प्रवेश गरेको छ ।

खेलको ३१ औँ मिनेटमा मनाङ मर्स्याङ्दीका प्रसन्न श्रेष्ठले गोल गर्दै टिमलाई अग्रता दिलाएका थिए । त्यसैगरी पहिलो हापको अन्तिम समयमा अर्को गोल थपिएपछि मनाङका खेलाडी उत्साहित भएका थिए । दोस्रो गोल पहिलो हाफको ईन्जुरी समयमा रिवाउन्ड सटमा चेतन थारुले गरेका थिए ।

नेपालबाट अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागी भएका खेलाडी जुमानु राई, भोला सिलवालसहितका प्रभावशाली खेलाडी भए पनि नेपाल पुलिस क्लबका लागि मङ्गलवारको खेल प्रभावकारी देखिएन । खेलको दोस्रो हापमा पुलिस क्लबका तर्फबाट १ गोल भएपनि जितका लागि त्यो पर्याप्त भएन । नेपाल पुलिसका लागि १८ ह्यार्ड टाढाबाट प्रहार गर्दै बुद्धबल तामाङले गोल गरेका थिए ।

बुधबार सेमिफाइनल खेल सुदूरपश्चिम र थ्री स्टार क्लबबिच हुनेछ ।
रुपन्देही जिल्ला फुटबल सङ्घको आयोजनामा भएको गोल्डकपमा दुई विभागीयसहित आठ टिम सहभागी छन् ।
प्रतियोगिताको विजेताले ११ लाख ११ हजार एक सय ११ रुपैयाँ नगद पुरस्कार पाउनेछ । उपविजेताले ५ लाख ५५ हजार ५ सय ५५ रुपैयाँ पुरस्कार प्राप्त गर्नेछ । सर्वोत्कृष्ट खेलाडीले एक लाख रुपैयाँ एक थान मोटरसाइकल पुरस्कार पाउँदा उत्कृष्ट फरवार्ड, गोलरक्षक, मिड फिल्डर, डिफेन्स र कोचलाई जनही ३० हजारका दरले नगद पुरस्कार प्रदान गरिने आयोजक रुपन्देही जिल्ला फुटबल संघका अध्यक्ष लोक पुनले बताए। त्यस्तै, प्रत्येक खेलमा म्यान अफ द म्याचलाई ११ हजार १ सय ११ रुपैयाँ पुरस्कार प्रदान गरिने उनले बताए।
प्रतिक्रिया राख्नुहोस्