तपाईँ सुन्दै हुनुहुन्छः

प्रधानमन्त्री थ्री नेसन्स कप फुटबल बुधबार सुरु हुँदै

काठमाडौँ । प्रधानमन्त्री थ्री नेसन्स कप फुटबल प्रतियोगिता बुधवारबाट काठमाडौँमा सुरु हुँदैछ ।

त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा हुने प्रतियोगितामा नेपाल, भुटान र लाओसले प्रतिस्पर्धा गर्नेछन् । प्रतियोगिताको उद्घाटन खेलमा नेपालले लाओसको सामना गर्दैछ । नेपाल र लाओसबीचको खेल साँझ ६ बजे सुरु हुनेछ ।

घरेलु मैदानमा नेपाल लाओसविरुद्ध उत्कृष्ट नतिजा निकाल्ने योजनासहित मैदान उत्रनेछ । नेपाली टोलीका कप्तान किरण चेम्जोङले छोटो तयारी भए पनि लाओसविरुद्ध खेल्न नेपाली टोली तयार रहेको बताएका छन् ।

प्रतियोगिताका लागि नवनियुक्त मुख्य प्रशिक्षक भिन्सेन्जो अल्बर्टो एनीसले अन्गल्बरले किरणको कप्तानीमा २३ सदस्सीय टिम घोषणा गरिसकेका छन् । एनीसले घोषणा गरेको टोलीमा ७ जना नयाँ खेलाडी छन् । अभिषेक बराल, सनिश श्रेष्ठ, पदम भट्टराई, मणिकुमार लामा, सुमित श्रेष्ठ, नवीन लामा र दीपकराज सिंह ठकुरीलाई पहिलो पटक राष्ट्रिय टोलीमा परेका हुन् ।

नयाँ प्रशिक्षक र नयाँ खेलाडीको कारण टोलीका लागि चुनौती भए पनि त्यसलाई स्वीकार गरेर अघि बढेको कप्तान किरणले बताए ।

मुख्य प्रशिक्षक एनीसले प्रतियोगिताका लागि आफूले उत्कृष्ट खेलाडी छनोट गरेको बताए । उनले तयारी राम्रो भएको समेत बताए । एनीसले विपक्षी टिमको गुण आफूले देखेको र आफ्नो टिमको गुण समेत जानकारी भएको बताए ।

नेपालले २०१६ पछि पहिलो पटक लाओससँग खेल्न लागेको हो । एएफसी सोलिडारिटी कपको सेमिफाइनलमा नेपाल र लाओसबीच प्रतिस्पर्धा भएको थियो । जसमा २–२ गोलको बराबरीपछि नेपालले पेनाल्टीमा ३–० ले खेल जितेको थियो ।

लाओसका मुख्य प्रशिक्षक माइकल वेसले आफूसँग युवा टोली रहेको बताउँदै राम्रो नतिजाकै लागि खेल्ने बताए । लाओसका कप्तान सौकाफोन भोङ्चियाङखामले प्रतियोगिताका लागि पहिलो पटक नेपाल आउँदा खुशी लागेको बताउँदै प्रतियोगिताका लागि उत्साहित रहेको बताए । उनले प्रतियोगितामा लाओसको फुटबल देखाउने बताए ।

भुटानका मुख्य प्रशिक्षक पेमाले प्रतियोगिताका लागि २ महिनाबाट तयारी गरेको बताए । उनले अन्य टोलीको जस्तो आफ्नो टोलीको लक्ष्य पनि उपाधि रहेको बताए । भुटानी कप्तान चेन्चो ग्याल्सेनले प्रतियोगिताका लागि आफु उत्साहित रहेको बताए ।

सिङ्गल राउण्ड रोबिनको आधारमा हुने प्रतियोगिता शीर्ष दुई टोलीले उपाधिका लागि चैत १७ गते खेल्ने छन् । प्रतियोगिताको विजेताले ५ हजार अमेरिकी डलर, उपविजेताले ३ हजार डलर पाउने एन्फाले जनाएको छ । प्रतियोगिताको उत्कृष्ट खेलाडीले ५ सय अमेरिकी डलर र खेलको म्यान अफ दि म्याचले २५० डलर पाउने छन् ।

चैत ११ गते भुटान र लाओस भिड्ने छन् । त्यस्तै चैत १४ गते नेपाल र भुटान भिड्ने छन् ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button