तपाईँ सुन्दै हुनुहुन्छः

विकासको नयाँ मोडलबारे वृहत् छलफल गरिन्छ : प्रधानमन्त्री प्रचण्ड

गोरखा । प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड) ले नेपालमा विकासको नयाँ मोडलबारे सरोकारवालाहरूलाई बोलाएर वृहत् छलफल गरिने बताउनुभएको छ । 

गोरखा जिल्लाको निर्वाचन क्षेत्र नम्बर २ पालुङटार वडा नम्बर २ स्थित पन्थहिटी–कटहरे–हर्मी–साहिलटार सडक उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै प्रधानमन्त्री दाहालले भन्नुभयो, “उत्पादन वृद्धिको कार्ययोजनामा विकास निर्माणलाई जोड्नुपर्दछ, नेपालमा विकासको मोडलबारेमा पुनः विचार गर्नुपर्छ, यसबारेमा छिट्टै नै सरोकारवालाहरूलाई बोलाएर वृहत् छलफल गरिन्छ । विकासले रोजगारी सृष्टि गर्ने, उत्पादन वृद्धि गर्ने र गाउँघरमा युवा जनशक्ति पलायन हुनबाट रोक्नुपर्दछ” । 

जनताको  सुशासन र सामाजिक न्याय र समृद्धिको आकाङ्क्षा पुरा गर्न सङ्घीय सरकारलाई पूर्णता दिने प्रदेश सरकारलाई पूर्णता दिने दाहालले बताउनुभयो । 

विकासलाई शिक्षा, स्वास्थ्य र रोजगारी सृष्टिसँग जोडेर योजना बनाउनुपर्ने उहाँले बताउनुभयो । बाटो निर्माणले मात्रै विकास नहुने उहाँले बताउनुभयो । देशमा युवा पलायन हुन रोक्नका लागि सङ्कल्प गरेको उहाँले बताउनुभयो । गोरखाली दाजुभाइ दिदी बहिनीहरूको सहयोग, सद्भाव र मायाले आफू प्रधानमन्त्री भएको बताउँदैले आफूले सकेको देश र जनताको पक्षमा काम गर्ने बताउनुभयो । 

कार्यक्रममा उपप्रधानमन्त्री एवम् भौतिक पूर्वाधार तथा यातायात मन्त्री नारायणकाजी श्रेष्ठ, पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराई, नेपाली काँग्रेस गण्डकी प्रदेशका संसदीय दलका नेता सुरेन्द्रराज पाण्डे, पालुङटार नगरपालिका प्रमुख विवश चिन्तन लगायतले सम्बोधन गर्नुभएको थियो । 

कार्यक्रम सडक विभागका महानिर्देशक सुशिलबाबु ढकालको अध्यक्षता र पूर्वाधार मन्त्रालयका कर्मचारी कल्पना अधिकारीको सञ्चालनमा सम्पन्न भएको थियो । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button