तपाईँ सुन्दै हुनुहुन्छः

देवचुलीमा फायर हाइड्रेण्ट जडान

नवलपुर । नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरको देवचुलीमा रहेको प्रगतिनगर खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाले दमकललाई पानी भर्ने ठाउँ (फायर हाइड्रेण्ट) जडान गरेको छ । 

देवचुली नगरपालिका–१५, धौलागिरि चोकमा फायर हाइड्रेण्ट  जडान गरेको संस्थाका अध्यक्ष खिमानन्द भुसालले बताउनुभयो ।

नगरपालिका भित्र कुनै पनि क्षेत्रमा आगलागी भएर विपतको अवस्था आए तत्काल दमकलले पानी भरेर समयमा आगो नियन्त्रण गरि क्षति न्यूनीकरण गर्न सकियोस् भन्ने उद्देश्यले नयाँ फायर हाइड्रेण्ट जडान गरिएको अध्यक्ष भुसालले बताउनुभयो । धौलागिरि चोकमा फायर हाइड्रेण्ट जडान गरेपछि दमकललाई आवश्यक पर्दा पानी भर्न सहज हुने छ ।

नगरका हरेक क्षेत्रमा कुनै आगलागीका घटना घटे पाँच मिनेट भित्रको दुरीमा दमकलमा पानी भर्न सकियोस् भन्ने योजनाका साथ फायर हाइड्रेण्ट जडानको योजना रहेको अध्यक्ष भुसालले बताउनुभयो ।

चाँडै अन्य तीन स्थानमा समेत फायर हाइड्रेण्ट जडान गरिने अध्यक्ष भुसालले बताउनुभयो । देवचुली १० , १३ र १४ समेत फायर हाइड्रेण्ट जडानका लागि सामाग्री आइसकेको र चाडै जडान हुने उहाँले बताउनुभयो ।

यसअघि संस्थाले देवचुली–१४, कैलाश चोक र देवचुली–११, धारापानी चोकमा फायर हाइड्रेण्ट जडान गरिसको छ । आगलागी हुँदा दमकललाई आपतकालीन अवस्थामा पानी भर्न असुविधा हुँदा धेरै क्षति हुन सक्ने भएकाले जतिसक्दो छिटो दमकलालाई पानी उपलब्ध गराउन सक्ने गरि फायर हाइड्रेण्ट जडान गर्ने योजना अनुसार काम भइरहेको उहाँले बताउनुभयो । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button