तपाईँ सुन्दै हुनुहुन्छः

नेपाल भारतसँग पराजित

काठमाडौँ । साफ यू–१७ महिला च्याम्पियनशिप फुटबल प्रतियोगिताको पहिलो खेलमा नेपाल  भारतसँग पराजित भएको छ ।

बङ्गलादेशको ढाकास्थित वीर श्रेष्ठ शहीद सिपाही मुस्तफा कमल स्टेडियममा आज भएको खेलमा भारतले नेपाललाई ४–१ गोलअन्तर  पराजित गरेको हो ।

भारतको जितमा शिल्जी शाजीले ह्याट्रिक पूरा गरिन् भने  पूजाले एक गोल गरिन् । नेपालका लागि वर्षा ओलीले एक गोल फर्काइन् ।

खेलको दसौँ मिनेटमा भारतकी शिल्जी शाजीले गोल गर्दै  सुरुआती अग्रता दिलाइन् । त्यस्तै खेलको ४०औँ मिनेटमा शाजीले व्यक्तिगत दोस्रो गोल गर्दै भारतलाई २–० को अग्रता दिलाइन् । खेलको पहिलो हाफको ४१औँ मिनेटमा पूजाले एक गोल थपिन् । 

त्यसपछि खेलको ५४औँ मिनेटमा नेपालकी खेलाडी वर्षा ओलीले गोल गर्दै खेललाई  ३–१ को स्थितिमा ल्याइन् ।

त्यस्तै  खेलको ८०औँ मिनेटमा शाजीले ह्याट्रिक पूरा गर्दै भारतलाई ४–१ को जित दिलाइन् । जितसँगै भारतले पहिलो खेलमा ३ अङ्क जोडेको छ । 

प्रतियोगितामा आयोजक बङ्गलादेश, नेपाल, भारत, भुटान र रसियाको सहभागिता रहेको छ । नेपालले आफ्नो  दोस्रो खेलमा बुधबार भुटानसँग खेल्नेछ । रासस

प्रतिक्रिया राख्नुहोस्

Back to top button