तपाईँ सुन्दै हुनुहुन्छः

विश्वासको मतसम्बन्धी प्रस्तावमाथिको छलफल जारी

काठमाडौँ । नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले वर्तमान गठबन्धन आगामी पाँच वर्षसम्म टिक्ने र यसले मुलुकमा राजनीतिक स्थायित्व प्रदान गर्ने बताउनुभएको छ ।

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले राख्नुभएको विश्वासको मतसम्बन्धी प्रस्तावमाथिको छलफलमा अध्यक्ष नेपालले प्रधानमन्त्री प्रचण्डले राख्नुभएको विश्वासको प्रस्तावलाई समर्थन गर्दै प्राथमिकताका आधारमा आयोजना छुट्याएर मुलुकको विकास र समृद्धिमा ध्यान दिन आग्रह गर्नुभयो ।  

बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पेश गर्नुभएको विश्वासको मत सम्बन्धी प्रस्तावमाथि भएको छलफलमा भाग लिँदै नेपाली कांग्रेसका सभापति शेर बहादुर देउवा, नकपा माओवादी केन्द्रका नेता देवेन्द्र पौडेल, राष्ट्रिय स्वतन्त्र पार्टीका डोलप्रसाद अर्यालले आफ्नो पार्टीले सरकारलाई विश्वासको मत दिने बताउनुभयो ।

यसैगरी छलफलमा भाग लिँदै जनता समाजवादी पार्टीका सांसद प्रदीप यादव, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, जनमत पार्टीका अध्यक्ष चन्द्रकान्त राउत, लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) का नेता शरतसिंह भण्डारी, जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसी, स्वतन्त्र सांसद प्रभु शाह, सांसद डा.अमरेशकुमार सिंहले विश्वासको मत दिने बताउनुभएको छ ।

नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेल, राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्रप्रसाद लिङ्देन, नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवालले भने विश्वासको मत माग्ने प्रधानमन्त्री प्रचण्डको प्रस्तावको विपक्षमा मत दिने बताउनुभयो । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button