तपाईँ सुन्दै हुनुहुन्छः

विकास र समृद्धिका लागि राष्ट्रिय सहमतिको खाँचो छ : नेता पौडेल

काठमाडौँ । नेकपा (माओवादी केन्द्र)का नेता देवेन्द्र पौडेलले राजनीतिक स्थायित्व, विकास र समृद्धिका लागि राष्ट्रिय सहमतिको खाँचो औँल्याउनुभएको छ । 

प्रतिनिधिसभाको आजको बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राख्नुभएको विश्वासको मतसम्बन्धी प्रस्तावमाथिको छलफलका क्रममा उहाँले निर्वाचनबाट प्राप्त जनमतले दलहरू एकताबद्ध भएर जानुपर्छ भन्ने देखाएको बताउनुभयो ।

“सबै राजनीतिक दललाई एकताबद्ध बनाएर लैजानुपर्ने अहिलेको जनमत छ, मिलेर जाने भन्ने अहिलेको जनमत हो, राष्ट्रपति जस्ता देशको प्रमुख पद सहमतिमा गरौँ भन्दा एमालेका नेताहरू किन भाग्नुभयो ? सहमतिमै राष्ट्रपति, उपराष्ट्रपति चयनमा मिलेर जान सकिँदैन थियो ?”, उहाँले प्रश्न गर्नुभयो । 

सङ्क्रमणकालीन न्याय टुङ्ग्याउन, देशका यावत समस्या समाधान गर्न अहिले राष्ट्रिय सहमतिको खाँचो रहेको जनाउँदै उहाँले त्यही लक्ष्य हासिल गर्न प्रधानमन्त्रीले सुरुदेखि नै राष्ट्रिय सहमतिको विषय उठाउँदै आउनुभएको स्पष्ट पार्नुभयो । 

“फेरि पनि यो देशमा सहमतिको आवश्यकता छ । जनताको जनमत जोगाएर पाँच वर्ष टिकाउनका लागि दल एकताबद्ध हुनु जरुरी छ । पाँच वर्षसम्म या सांसद सकुशल जोगाएर देशको यावत् समस्या समाधान गर्न प्रधानमन्त्रीले राष्ट्रिय सहमति खोज्नुभएको हो”, उहाँले भन्नुभयो ।

 नेकपा (एमाले) र राष्ट्रिय प्रजातन्त्र पार्टीलाई राष्ट्रिय सहमतिबाट भागेर नभई मिलेर देशका समस्या समाधान गर्न आह्वान गर्दै उहाँले वर्तमान सरकारलाई विश्वासको मत दिन सम्पूर्ण राजनीतिक दललाई आग्रह गर्नुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button