तपाईँ सुन्दै हुनुहुन्छः

उपराष्ट्रपति यादवद्वारा पदबहाली

काठमाडौँ । उपराष्ट्रपति रामसहायप्रसाद यादवले लैनचौरस्थित कार्यालयमा पदबहाली गर्नुभएको छ ।

राष्ट्रपति कार्यालय शीतल निवासमा आज पद तथा गोपनीयताको शपथ लिएलगत्तै उपराष्ट्रपति यादवले उपराष्ट्रपतिको कार्यालय हरितगृह, लैनचौर पुगेर पदबहाली गर्नुभएको हो । उपराष्ट्रपतिले पदबहाली गरेर औपचारिकरुपमा जिम्मेवारी सम्हाल्नुभएको उपराष्ट्रपति कार्यालयका सूचना अधिकारी (उपसचिव) प्रवीण पौडेलले जानकारी दिनुभयो ।

उहाँका अनुसार पदबहालीपछि उपराष्ट्रपतिलाई कार्यालयको तर्फबाट सचिव टेकनारायण पाण्डेले ‘ब्रिफिङ’ गर्नुभएको थियो । उपराष्ट्रपति यादवले पदबहालीपछि कार्यालय परिसरमा वृक्षारोपणसमेत गर्नुभएको थियो । यादव यही चैत ३ मा मुलुकको तेस्रो उपराष्ट्रपति पदमा निर्वाचित हुनुभएको थियो ।

उपराष्ट्रपति यादवको जीवनी

स्वच्छ तथा इमान्दार राजनीतिज्ञको छवि बनाउनुभएका उपराष्ट्रपति यादव यसअघि जनता समाजवादी पार्टी (जसपा) नेपालका संसदीय दलका नेता एवं पूर्वमन्त्रीसमेत हुनुहुन्थ्यो ।

यादवको जन्म विसं २०१७ साउन ९ गते बुवा स्व प्रसाद राय यादव र आमा स्व सिहवादेवी यादवका कान्छो छोराका रूपमा बाराको कचोर्वा–८ बसवरियामा भएको हो । उहाँका दुई दाजुभाइ तथा तीन दिदीबहिनी हुनुहुन्छ । साथै श्रीमती, दुई छोरा र एक छोरी हुनुहुन्छ ।

उहाँ विसं २०७२ मा मधेसी जनाधिकार फोरम नेपाल र सङ्घीय समाजवादी पार्टी नेपाल एकीकरण भई गठन भएको सङ्घीय समाजवादी फोरम नेपालको महासचिव हुनुभएको थियो । यादव गत मङ्सिर ४ गते सम्पन्न प्रतिनिधिसभा सदस्यको निर्वाचनमा बारा क्षेत्र नं २ बाट निर्वाचित हुनुभएको हो । उहाँ यसअघि २०७४ सालमा पनि बारा–२ बाटै प्रतिनिधिसभा सदस्यमा निर्वाचित हुनुभएको थियो ।

भारतको सीतामढी कलेजबाट विज्ञान विषयमा स्नातक र ठाकुरराम बहुमुखी क्याम्पस वीरगञ्जबाट शिक्षा सङ्कायमा स्नातक अध्ययन गर्नुभएका यादवको प्राथमिक शिक्षा आफ्नै गाउँको नेपाल राष्ट्रिय प्राथमिक विद्यालय बसवरियाबाट सुरु भएको थियो ।

नेपाल सद्भावना पार्टीबाट राजनीति सुरु गर्नुभएका उहाँ उच्च शिक्षा लिई भारतको सीतामढीबाट बिएससी अध्ययन गरी फर्किँदा नेपालमा २०४६ सालको आन्दोलन सुरु भइसकेको थियो । उक्त समयमा तराई मधेसका मुद्दामा नेपाल सद्भावना पार्टीले काम गरिरहेको विषय जानकारी पाएपछि उहाँ २०४७ सालमा सद्भावना पार्टीमा प्रवेश गर्नुभएको हो ।

यादव २०५९ सालमा मधेसी जनाधिकार फोरममा आबद्ध हुनुभएको हो । त्यसपछि उहाँ २०६४ सालमा पहिलो संविधानसभामा समानुपातिक तर्फबाट सदस्य हुनुभएको थियो भने विसं २०६५ मा उहाँ पार्टी महासचिव हुनुभयो । 

उहाँ विसं २०७६ मा समाजवादी पार्टी र राष्ट्रिय जनता पार्टी (राजपा) बीच एकीकरण भई गठित जनता समाजवादी पार्टी नेपालको कार्यकारिणी समिति सदस्य हुनुभएको थियो । विसं २०७८ मा तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको सरकारमा वन तथा वातावरणमन्त्री हुनुभएको थियो । रासस

प्रतिक्रिया राख्नुहोस्

Back to top button