तपाईँ सुन्दै हुनुहुन्छः

शान्ति र विकासका लागि गठबन्धन केन्द्रित हुन आवश्यक : सभापति देउवा (पूर्णपाठ)

काठमाडौँ । पूर्व प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले देश र जनताको पक्षमा, संविधानको रक्षा गर्ने र देशमा स्थिरता, अमन चयन, शान्ति र विकासका लागि गठबन्धन केन्द्रित हुन आवश्यक रहेको बताउनुभएको छ । 

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले माग्नुभएको विश्वासको मतलाई समर्थन गर्दै सभापति देउवाले मिश्रित निर्वाचन प्रणालीमार्फत समावेशी चरित्रको समाज निर्माण गर्ने उद्देश्यलाई सार्थक तुल्याउन गठबन्धनको संस्कारमा अभ्यस्त हुँदै जानुको विकल्प नभएको बताउनुभयो । 

सभापति देउवाले संविधान प्रदत्त राजनीतिक व्यवस्था, राजनीतिक स्थिरता र देशको समृद्धिको पक्षमा सधैँ उभिएको र उभिइरहने वाचा गर्नुभयो ।

सभापति देउवाले अब हाम्रो ध्यान राजनीतिक वाद विवाद र आरोप प्रत्यारोपमा मात्र केन्द्रित गर्नु हुँदैन भन्दै सरकार र संसद्बाट नेपाली जनताले गरेको अपेक्षा पुरा गर्न सबै लाग्नुपर्ने बताउनुभयो ।  

सभापति देउवाले संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्थाको माध्यमबाट दिगो शान्ति, सुशासन, विकास र समृद्धि प्राप्त गर्नु सबैको साँझा लक्ष्य हो भन्नुहुँदै संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्थाको सुदृढीकरण र संविधानको रक्षा आजको आवश्यकता भएको बताउनुभयो ।

सभापति देउवाले संविधानको सार्थक कार्यान्वयनका नीति र कानून निर्माण गर्नुका साथै देशको बिग्रँदो आर्थिक अवस्थालाई सुधार गर्न आवश्यक रहेको औल्याउदै अर्थतन्त्रलाई उकास्ने नीति, योजना र कार्यान्वयनको ठोस प्रतिबद्धताको आवश्यकता रहेको बताउनुभयो । 

सभापति देउवाले शान्ति प्रक्रियाका बाँकी कामहरूलाई तार्किक निष्कर्षमा पुर्‍याउनुपर्ने भन्दै सङ्क्रमणकालीन न्यायको विषयलाई सम्बोधन गर्न कानून संशोधनको प्रक्रिया अगाडि बढेकाले  यसलाई संघीय संसदमा रहेका सबैले आपसी सहमतिका साथ निष्कर्षमा पुर्‍याउनुपर्ने बताउनुभयो ।

सभापति देउवाले देशमा कतिपय राष्ट्रिय सरोकारका विषयमा  सबैले साझा धारणा निर्माण गर्न आवश्यक रहेको भन्दै महत्वपूर्ण तथा राष्ट्रिय सरोकारका विषयमा सत्ता पक्ष वा प्रतिपक्ष सबै राजनीतिक दलहरुबीच संवाद, सहमति र सहकार्यको मार्ग अवलम्बन गर्नु पर्ने बताउनुभयो ।

उहाँले नेपाली काँग्रेसले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विश्वासको मतका लागि राख्नु भएको प्रस्तावको पक्षमा मतदान गर्ने भन्दै नेपाली काँग्रेस दाहाल नेतृत्वको वर्तमान सरकारमा सहभागी पनि पनि बताउनुभयो ।

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले संसद्मा गर्नुभएको सम्बोधनको पूर्णपाठ
सम्माननीय सभामुख महोदय,
(१) सम्माननीय प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ज्यूले नेपालको संविधानको धारा १०० को उपधारा (२) बमोजिम विश्वासको मतका लागि यस गरिमामय सदनको यो बैठकमा प्रस्ताव प्रस्तुत गर्नु भएको छ । 

(२) सम्माननीय प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले यस सदनमा बहुमतमा रहेका राजनीतिक दलहरूको समर्थनमा संविधानको धारा ७६ को उपधारा (२) अनुसार  मिति २०७९ साल पुस २६ गते विश्वासको मत प्राप्त गर्नु भएको थियो । तत्कालीन अवस्थामा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’जीलाई विश्वासको मत दिएका सरकारमा सहभागी केही दलले सरकारलाई दिएको समर्थन फिर्ता लिएका हुँदा प्रधानमन्त्रीले संविधानको धारा १०० बमोजिम पुनः विश्वासको मत लिनु परेको हो । 

(३) हामीले अपनाएको मिश्रित निर्वाचन प्रणालीले समावेशी चरित्रको समाज निर्माण गर्ने हाम्रो उद्देश्यलाई सार्थक तुल्याएको छ । यसले सबै लिङ्ग, वर्ग, जाति, समुदायको प्रतिनिधित्वलाई सुनिश्चित गरेको छ । तर यो प्रणालीमा कुनै एक मात्र दलले प्रतिनिधि सभामा बहुमत ल्याउन सक्ने अवस्था प्रायः नहुने भएको हुँदा गठबन्धनको संस्कृतिलाई आत्मसात गर्नु पर्ने हुन्छ । त्यसैले पनि हामीले गठबन्धनको संस्कारमा अभ्यस्त हुँदै जानुको विकल्प छैन । राजनीतिक गठबन्धनहरू आत्म केन्द्रित, स्वार्थ प्रेरित, क्षणिक र अस्थिरता ल्याउने हुनु हुँदैन । देश र जनताको पक्षमा, संविधानको रक्षा गर्ने र देशमा स्थिरता, अमन चयन, शान्ति र विकासका लागि गठबन्धन केन्द्रित हुन आवश्यक छ । 

सभामुख महोदय, 
(४) मैले सम्माननीय प्रधानमन्त्रीजीले मिति २०७९ साल पुस २६ मा संविधानको धारा ७६ (२) बमोजिम विश्वासको मतका लागि प्रस्ताव प्रस्तुत गर्दा देशका प्रमुख एजेण्डाको बारेमा उल्लेख गरेको थिए । संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्थाको सुदृढीकरण, संविधानको रक्षा र सार्थक कार्यान्वयन, मुलुकमा राजनीतिक स्थिरताको सुनिश्चितता हाम्रो आधारभूत आवश्यकता भएको तर्फ सदनको ध्यान आकृष्ट गरेको थिए । संघीय लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्था मार्फत नै मुलुकमा दिगो शान्ति, सुशासन, विकास र समृद्धिको आकाङ्क्षा पूरा गर्न सकिन्छ भन्ने विषयमा जोड दिएको थिए र राजनीतिक स्थिरतालाई पूर्व शर्तको रुपमा उल्लेख गरेको थिए । 

हामीले त्यतिबेला संसदमा प्रमुख विपक्षी दलका रुपमा रहेर पनि प्रधानमन्त्रीको प्रस्तावको पक्षमा मतदान गरेका थियौँ । त्यो मतदान राजनीतिक स्थिरताका लागि थियो । मैले प्रधानमन्त्रीको प्रस्तावमा समर्थन गर्दा भनेको थिए, संसद्को अधिवेशनको प्रारम्भमानै अस्थिरताका आवाजहरू उठ्न थालेका छन् । संसद् अनिश्चितता र देश अन्योल तर्फ जाने सम्भावना बढेको छ ।  तसर्थ  हामीले प्रतिनिधि सभाको पूर्ण कार्यकालको सुनिश्चितता र समग्रमा राजनीतिक स्थिरताको लागि प्रस्तावको पक्षमा मतदान गरेका थियौ । हामी संविधान प्रदत्त राजनीतिक व्यवस्था, राजनीतिक स्थिरता र देशको समृद्धिको पक्षमा हमेसा उभिएका छौ र उभिइरहने वाचा गर्दछौ । 

सभामुख महोदय,
(५) आज भन्दा एक्काइस महिना पहिले प्रतिनिधि सभाको असंवैधानिक, अलोकतान्त्रिक र अस्वाभाविक विघटनबाट देश अस्थिरतामा जाने खतरा उत्पन्न भएको थियो । अप्रत्याशित तवरले विकसित त्यस राजनीतिक घटनाक्रमको बिचमा नेपाली काँग्रेस सहित अन्य राजनीतिक दलहरूको सहयोग र सहमतिमा म प्रधानमन्त्री नियुक्त भएको थिए । तत्कालीन अवस्थामा मेरो प्रधानमन्त्रीमा नियुक्ति पनि संविधानको रक्षा र स्थिरताका लागि नै थियो । संविधानको भावना बमोजिम प्रतिनिधि सभालाई पूर्ण कार्यकाल कार्य सम्पादन गर्ने सुनिश्चितता गर्नु, स्थानीय तह, प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचन समयमा सम्पन्न गरि देशलाई लोकतान्त्रिक मार्गमा अग्रसर गराउनु मेरो नेतृत्वको सरकारको प्राथमिक जिम्मेवारी थियो । यस कार्यमा तमाम चुनौती र कठिनाइहरू थिए तापनि प्रतिनिधि सभा पूर्ण कार्यकाल कायम रह्यो । 

स्थानीय तहको निर्वाचन समयमा सम्पन्न भयो । प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचन सफलतापूर्वक सम्पन्न भयो । देशले स्थिरता र संविधान सम्मत यात्राको अनुभूति गर्‍यो । तत्कालीन अवस्थामा संघीय लोकतान्त्रिक गणतन्त्रको सुदृढीकरण, स्थिरता र संविधानको सफल कार्यान्वयनका साथै आर्थिक क्षेत्रमा पनि उल्लेखनीय कार्य भएका थिए । मैले सरकारको नेतृत्व प्रारम्भ गर्दा विश्वव्यापी रूपले कोभिड–१९ को महामारी चरम अवस्थामा थियो । 

नागरिकको जीवन रक्षा सरकारको पहिलो कर्तव्य थियो । त्यस पूर्व कोभिडको खोप कार्यक्रम सुस्त, अनिश्चित र विवादास्पद थियो । खोप लगायत जीवन रक्षाका औषधी र सामग्रीहरूमा व्यापक भ्रष्टाचार भएको तथ्य सार्वजनिक भइरहेका थिए । मैले सरकारको नेतृत्व गरेपछि कोभिड विरुद्धको खोप कार्यक्रमलाई विशेष प्राथमिकता दिए । मेलै सरकार छोड्दा प्रायः सबै नेपालीलाई निःशुल्क खोप लगाउने व्यवस्था भएको कारणले नागरिकको जीवन सुरक्षा हुनका साथै देशमा पर्यटकीय एवं आर्थिक गतिविधिहरू समयमा सुचारु हुन सकेका हुन । कोभिडमा दक्षिण एसियामानै यो रिकर्ड राम्रो थियो ।  

सभामुख महोदय,
(६) आज निश्चय नै अर्थतन्त्र केही अप्ठेरो अवस्थामा छ । २०७८ सालमा मेरो नेतृत्वमा सरकार गठन हुनु पूर्व देशको अर्थतन्त्रको अवस्था ज्यादै नकारात्मक थियो ।  वैदेशिक मुद्राको स्थिति गिर्दो अवस्थामा थियो । वैदेशिक ऋण अनियन्त्रित रुपमा बढ्दै गएको थियो । बैङ्क ऋणको व्याज दर उच्च थियो । मेरो नेतृत्वको सरकारले अर्थतन्त्रका धेरै समस्या समाधान गरेर छोडेको थियो । तत्कालीन सरकारले चालेका कदमले भारतसँग विद्युतको व्यापार सम्झौता भएर ऐतिहासिक काम भएको छ । विप्रेषण आउने अवैधानिक बाटा कम भएर विप्रेषण बढेको छ । 

जल विद्युतको क्षेत्रमा उल्लेख्य योगदान हुने सम्भावना बोकेका तर अनावश्यक रूपले रोकेर राखिएका ट्रान्समिसन लाइन लगायत जल विद्युत् परियोजनाले गति लिएका छन् । किसानहरू सधैँ समस्यामा रहने रासायनिक मलको समस्या समाधान गर्न मित्र राष्ट्र भारतसँग नियमित मल आयातका लागि जीटूजी सम्झौता भएको थियो । विपन्नको सामाजिक सुरक्षाका लागि वृद्ध भत्ता पाउने उमेर ६८ वर्ष गरियो भने क्यान्सर, मेरुदण्ड पक्षाघात तथा मिर्गौलाका दीर्घ रोगीका लागि पहिलो पटक मासिक पाँच हजार भत्ता दिने निर्णय गरियो । मेरो नेतृत्वको सरकारको कार्यकालको अठार महिनामा आर्थिक, सामाजिक र विकास निर्माणका क्षेत्रमा व्यापक काम र उपलब्धी भएका हुन । 

सभामुख महोदय,
(७) अहिले हामीले सबै निर्वाचन सम्पन्न गरि सकेका छौँ । प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनपछि प्रतिनिधि सभाका सभामुख, उप सभामुख र राष्ट्रिय सभाका उपाध्यक्षको निर्वाचन भयो । हालै राष्ट्रपति र उपराष्ट्रपतिको निर्वाचन पनि सम्पन्न भएको छ । म राष्ट्रपति र उपराष्ट्रपति निर्वाचनमा नेपाली कांग्रेस सहितका राजनीतिक दलहरूले समर्थन गरेका उम्मेदवारहरूलाई विजयी गराउन सहयोग गर्ने सबै राजनीतिक दल, मतदान गर्नु हुने संघीय संसद् र प्रदेश सभाका सदस्यहरूलाई हार्दिक धन्यवाद दिन चाहन्छु । निर्वाचनलाई सफलतापूर्वक सम्पन्न गर्ने निर्वाचन आयोग, राष्ट्रपति र उपराष्ट्रपति निर्वाचनको कार्यालय, राष्ट्रसेवक निजामती र सुरक्षा निकाय लगायत निर्वाचनलाई सफल पार्न संलग्न सबैमा धन्यवाद दिन चाहन्छु । सबै निर्वाचनहरूमा सञ्चार माध्यमले खेलेको सकारात्मक भूमिकाको प्रशंसा गर्न चाहन्छु । अब हाम्रो ध्यान राजनीतिक वाद विवाद र आरोप प्रत्यारोपमा मात्र केन्द्रित गर्नु हुँदैन ।  

यो सरकार र संसदबाट नेपाली जनताले धेरै अपेक्षा राखेका छन् । संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्थाको माध्यमबाट दिगो शान्ति, सुशासन, विकास र समृद्धि प्राप्त गर्नु हामी सबैको साँझा लक्ष्य हो । संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्थाको सुदृढीकरण र संविधानको रक्षा आजको आवश्यकता हो । संविधानको सार्थक कार्यान्वयनका लागि धेरै नीति र कानून निर्माण गर्नुछ । देशको बिग्रँदो आर्थिक अवस्थालाई सुधार गर्न आवश्यक छ । विश्वव्यापी कोभिडको महामारी लगायतका कारण मुलुकको अर्थतन्त्रमा नकारात्मक असर परेको छ । यस क्षेत्रमा सरकारले विशेष ध्यान दिन जरुरी छ । 

अर्थतन्त्रलाई उकास्ने नीति, योजना र कार्यान्वयनको ठोस प्रतिविद्धताको आवश्यकता छ । शान्ति प्रक्रियाका बाँकी कामहरूलाई तार्किक निष्कर्षमा पुर्‍याउनु पर्दछ । सङ्क्रमणकालीन न्यायको विषयलाई सम्बोधन गर्न कानून संशोधनको प्रक्रिया अगाडी बढेको छ यसलाई संघीय संसदमा रहेका हामी सबैले आपसी सहमतिका साथ निष्कर्षमा पुर्‍याउनु पर्दछ । छिमेकी देश र मित्र राष्ट्रहरूसँग सन्तुलित र सुमधुर सम्बन्ध कायम राख्नु पर्दछ । श्रमिक, किसान र गरिब जनताका समस्या समाधानका लागि काम गर्नुछ । हाम्रो सम्पूर्ण ऊर्जा, मनस्थिति, व्यवहार र काम कारबाही नेपाल र नेपाली जनताको बृहत्तर हितका निमित्त केन्द्रित हुनु पर्दछ । सरकारले देश र जनताका प्रति ईमान्दार भई काम गर्ने र प्रतिपक्षले सरकारका काम कारबाहीहरूको सूक्ष्म रूपले मूल्याङ्कन गरि गुण र दोषका आधारमा समर्थन र विरोधको रचनात्मक भूमिका निर्वाह गर्नु नै संसदीय लोकतन्त्रको सुन्दर पक्ष हो । हाम्रा भूमिकाहरू यसै मान्यतामा आधारित हुनु पर्दछ भन्ने मेरो धारणा छ ।   

सभामुख महोदय,
(८) देशमा कतिपय राष्ट्रिय सरोकारका विषय छन्, जसमा हामी सबैले साँझा धारणा निर्माण गर्न आवश्यक छ । महत्वपूर्ण तथा राष्ट्रिय सरोकारका विषयमा सत्ता पक्ष वा प्रतिपक्ष सबै राजनीतिक दलहरुबीच संवाद, सहमति र सहकार्यको मार्ग अवलम्बन गर्नु पर्दछ भन्ने नेपाली काँग्रेसको दृढ मत छ । नेपाली काँग्रेसले हिजोका दिनमा तत्काल देशका सामु विद्यमान जटिल चुनौतीको सामना गर्न संवाद, सहमति र सहकार्यमा जोड दिएको इतिहास छ । 

यसै मुलमन्त्रका कारण दश वर्षे सशस्त्र सङ्घर्षको विषमपूर्ण अवस्थाबाट शान्ति वार्ताका माध्यमले हामी मुलुकलाई शान्तिमा रूपान्तरण गर्न सफल भयौँ । संविधान निर्माणको क्रममा हाम्राबिच निकै ठूला मतभेद वा मतभिन्नता थिए तथापि संवाद सहमति र सहकार्यका माध्यमले संविधान प्राप्त भयो । म अहिले पनि राष्ट्रिय सरोकारका साँझा विषयहरूमा सहमतिका साथ अगाडी बढ्ने कुरामा जोड दिन चाहन्छु ।

(९) हाम्रो पार्टी नेपाली काँग्रेसले सम्माननीय प्रधानमन्त्री श्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपालको संविधानको धारा १०० को उपधारा (२) बमोजिम विश्वासको मतका लागि यस गरिमामय सदनमा राख्नु भएको प्रस्तावको पक्षमा मतदान गर्ने निर्णय गरेको छ । साथै नेपाली काँग्रेस सम्माननीय प्रधानमन्त्री श्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको वर्तमान सरकारमा सहभागी पनि हुनेछ ।   

(१०) सम्माननीय प्रधानमन्त्रीले विश्वासको मत प्राप्त गर्नु नै हुनेछ । मुलुकमा विद्यमान चुनौतीको सामना गर्नु हुनेछ । देश र जनताको हितमा काम गर्नु हुनेछ भन्ने मैले विश्वास गरेको छु ।
धन्यवाद ।
जय नेपाल ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button