तपाईँ सुन्दै हुनुहुन्छः

राष्ट्रिय सभाका अध्यक्ष तिमिल्सिना र बेलायती सांसद शर्माबीच भेटवार्ता

काठमाडौँ । राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिना र बेलायतको लेबर पार्टीका सांसद वीरेन्द्र शर्माबीच सिंहदरबारमा शिष्टाचार  भेटवार्ता भएको छ। 

भेटका क्रममा अध्यक्ष तिमिल्सिनाले बेलायतले सरकार नेपालको विकासका लागि गरेको सहयोगको प्रशंसा गर्नुभयो । अध्यक्ष तिमिल्सिनाले बेलायती संसद्का सभामुखलाई नेपाल भ्रमणका लागि औपचारिक निमन्त्रणा पठाइसकेको र सो बारे बेलायती सांसदलाई समेत स्मरण गराउनु भयो । 

नेपाल र बेलायतबीच शान्ति तथा मैत्री सन्धि भएको १०० वर्षको अवसरमा आयोजना गरिने औपचारिक कार्यक्रममा बेलायती संसद्को सभामुखलाई प्रमुख अतिथिको रुपमा नेपालमा स्वागत गर्न चाहेको समेत बताउनु भयो । उक्त भेटघाटका क्रममा सांसद शर्माले बेलायतबाट छिट्टै उच्च स्तरीय भ्रमण हुने जानकारी गराउनु भयो ।  

साथै बेलायत लगायत युरोपेली आकाशमा नेपाल वायुसेवाको उडान प्रतिबन्ध फुकुवाको पहल गर्न तथा नेपाल-बेलायत सिधा हवाई उडानको व्यवस्थाका लागि समेत अध्यक्ष तिमिल्सिनाले आग्रह गर्नुभयो । ब्रिटिस गोर्खाका सवाल, पर्यटन प्रवर्द्धन, पूर्वाधारमा लगानी, सीप विकास, नेपाली विद्यार्थीहरूलाई छात्रवृत्तिको व्यवस्था लगायतका विषयमा निरन्तर सहयोगको अपेक्षा गर्नुभयो । साथै, दुवै देशका संसदहरुबीच संसदीय अभ्यासहरूको आदानप्रदानका बारेमा समेत छलफल भयो । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button