तपाईँ सुन्दै हुनुहुन्छः

पाल्पाका चार क्याम्पसमध्ये दुईमा नेविसंघ र दुईमा अनेरास्ववियुको विजयी

पाल्पा । स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनमा पाल्पाका चार क्याम्पस मध्ये २ मा नेविसंघ र २ मा अनेरास्ववियुको नेतृत्व चयन भएको छ । सहिद बहुमुखी क्याम्पसमा मतदान प्रक्रियाबाटै नेतृत्व चयन हुँदा त्रिभुवन बहुमुखी क्याम्पसमा भागबण्डामा सहमति भएको हो । भने, उद्बबुद्द र माण्डव्यमा सर्वसहमतिमा नेतृत्व चयन भएको हो ।

देशकै पहिलो क्याम्पस त्रिभुवन बहुमुखी क्याम्पस पाल्पामा नेपाल विद्यार्थी सङ्घको नेतृत्वमा सर्वपक्षीय स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) गठन भएको छ । नेपाल विद्यार्थी संघका कृष्ण अर्याल अध्यक्षमा चयन भएको निर्वाचन अधिकृत जीवनबहादुर थापाले बताउनुभयो । उपाध्यक्षमा एमाले निकट अनेरास्ववियुका अमृत भट्टराई, सचिव अनेरास्ववियु (क्रान्तिकारी) का ताराबहादुर रायमाझी, नेकपा एकीकृत समाजवादी निकट अनेरास्ववियुबाट सहसचिवमा उमेश भण्डारी, कोषाध्यक्षमा एमाले निकट अनेरास्ववियुका सन्तोष पोखरेल चयन भएको निर्वाचन समितिले  जनाएको छ ।

फागुन २७ गते मनोनयनका दिन एमाले निकट अनेरास्ववियुले निर्वाचन अधिकृत कार्यालय र क्याम्पस प्रमुखको कार्यकक्षमा तालाबन्दी गरेपछि निर्वाचनका कार्यक्रम अघि बढ्न सकेको थिएन । सदस्यमा एमाले निकट अनेरास्ववियुबाट इन्दु गाहा र सुदर्शन पाण्डेय, नेविसंघबाट मिस्मा राना र सुशील बस्याल चयन भए । यसैगरी, अनेरास्ववियु क्रान्तिकारीबाट भीम लुंगेली, सृष्टि रास्कोटी मगर, मिलन सारु, सुजिता राना, विञान दुधराज, नेकपा एकीकृत समाजवादी निकट अनेरास्ववियूबाट उज्ज्वल भट्टराई र तुषार कालिकोटा चयन भएका छन् । राष्ट्रिय जनमोर्चा निकट अनेरास्ववियु छैठौबाट अंशु भट्टराई, राप्रपा समर्थित राष्ट्रिय प्रजातान्त्रिक विद्यार्थी सङ्गठनबाट विशाल विष्ट, असंलग्न विद्यार्थी युनियनबाट प्रवेश अर्याल सदस्यमा चयन भएका छन् ।

सहिद बहुमुखी क्याम्पस रामपुरमा नेविसंघको समूह विजयी

पाल्पा रामपुरको सहिद बहुमुखी क्याम्पसमा नेपाल विद्यार्थी संघ र अखिल क्रान्तिकारीको संयुक्त प्यानलबाट उम्मेदवार बनेका ल्याकत अली सभापतिमा विजयी भएका छन् । एमाले निकट अनेरास्ववियुका उम्मेदवार सन्देश ढकाललाई ३२ मतले पछि पार्दै अली विजयी भएका हुन् ।

आइतबार भएको निर्वाचनबाट प्रत्यक्षतर्फ सबै पदमा नेविसंघ र अनेरास्ववियु (क्रान्तिकारी) को संयुक्त प्यानल विजयी भएको निर्वाचन अधिकृत सूर्यप्रसाद घिमिरेले बताउनुभयो। सभापतिमा निर्वाचित अलीले ३ सय २४ मत प्राप्त गर्दा उहाँका प्रतिस्पर्धी अखिलका ढकालले २ सय ९२ मत पाउनुभयो । सचिवमा नेविसंघका रमेश पोखरेलले ३ सय ४६ मत प्राप्त गर्दा अखिलकी रमा श्रेष्ठले २ सय ६५ मत पाउनुभयो ।

कोषाध्यक्षमा संयुक्त प्यानलका तिलक सारु ३ सय ३१ मत सहित विजयी हुँदा प्रतिस्पर्धी अखिलकी दुर्गा विकले २ सय ७७ मत प्राप्त गर्नुभयो । सदस्यमा कसम मल्ल ठकुरी, कविता राना, जयन्ती दर्जी, अस्मिता खनाल र महेश राक्से निर्वाचित हुनुभएको छ । कुल मतदाता ७ सय ८२ मध्ये ६ सय ५२ मत खसेको थियो ।

उद्बुद्ध कलेज पुर्बखोलामा अनेरास्ववियु निर्विरोध

उद्बुद्ध कलेज पुर्बखोलामा  स्वतन्त्र विद्यार्थी युनियन  निर्वाचन अन्तर्गत एमाले निकट अनेरास्ववियुको एकल प्यानल निर्विरोध भएको छ । सभापतिमा केशव पङ्गेनी, उपसभापति कमल बस्याल, सचिव कृष्णा झापुर्लक, सहायक सचिव विनीता कामु निर्विरोध निर्वाचित हुनुभयो । सदस्यहरूमा सरिता नेपाली, रुपा घर्ती, हेमा हिस्की, विष्णु आचार्य, संगीता आचार्य, नेत्रबहादुर पल्ली निर्विरोध भएको निर्वाचन समितिले जनाएको छ  ।

माण्डव्य बहुमुखी क्याम्पस

पाल्पाको दमकडास्थित माण्डव्य बहुमुखी क्याम्पसमा पनि एमाले निकट अनेरास्ववियुका सरोज अधिकारी सभापति र बन्दना सुनार सचिव रहेको समिति गठन भएको छ । यहाँ नेविसंघ र एकीकृत समाजवादी निकट अनेरास्ववियुसमेत समितिमा छ । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button