तपाईँ सुन्दै हुनुहुन्छः

नवनिर्वाचित उपराष्ट्रपतिलाई बधाई

काठमाडौँ I निवर्तमान उपराष्ट्रपति नन्दबहादुर पुनले नवनिर्वाचित उपराष्ट्रपति रामसहायप्रसाद यादवलाई बधाई ज्ञापन गर्नुभएको छ । आज एक वक्तव्य जारी गर्दै उहाँले उपराष्ट्रपति यादवलाई कार्यकाल सफलताको कामना व्यक्त गर्नुभएको हो । 

दुई कार्यकाल गरी सात वर्ष पाँच महिना उपराष्ट्रपति पदमा रहँदा आफ्नो सबैसँग सौहाद्र र सहयोगात्मक सम्बन्ध रहेको जनाउँदै उहाँले संवैधानिक परिधिमा रहेर संविधानको रक्षा, पालन तथा राष्ट्रिय एकता र भौगोलिक अखण्डताका लागि इमान्दारीपूर्वक काम गर्दै उपराष्ट्रपति पदको गरिमा बढाउने कोशिस गरेको बताउनुभएको छ । 

सार्वभौम संविधानसभाबाट नेपालको संविधान जारी भएपछि सङ्क्रमणकालीन व्यवस्थामा मतदानद्वारा र संविधानको पूर्ण कार्यान्वयनको क्रममा अर्को कार्यकाल निर्विरोध उपराष्ट्रपतिमा निर्वाचित भएकामा हालै निर्वाचित उपराष्ट्रपतिले पद तथा गोपनीयताको शपथ लिनुभएसँगै आफ्नो कार्यकाल टुङ्गिएको उहाँले जनाउनुभएको छ । 

“मलाई उपराष्ट्रपतिमा निर्वाचित गरेर कार्यकाल सफल बनाउनसमेत सहयोग गर्ने राजनीतिक दलप्रति धन्यवाद ज्ञापन गर्दछु । कार्यकाल सफल र सुखद बनाउन पूर्णसहयोग गर्ने नेपाल सरकारप्रति धन्यवाद व्यक्त गर्दछु”, उहाँले भन्नुभएको छ । 

उहाँले उपराष्ट्रपतिको कार्यालयमा रही कार्यसम्पदान गर्ने कर्मचारी, निजी सचिवालयका सदस्य, सुरक्षा प्रदान गर्ने नेपाली सेना, सुरक्षा समन्वय गर्ने नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र राष्ट्रिय अनुसन्धान विभाग तथा सुरक्षा निकायका अधिकृत तथा सदस्यलाई धन्यवाद दिनुभएको छ । निवर्तमान उपराष्ट्रपति पुनले आगामी दिनमा राष्ट्रियता, भौगोलिक अखण्डता, सार्वभौमिकता र समृद्धिका लागि निरन्तर लागिरहने प्रतिबद्धता व्यक्त गर्नुभएको छ । रासस

प्रतिक्रिया राख्नुहोस्

Back to top button