तपाईँ सुन्दै हुनुहुन्छः

कञ्चनपुरका १६ मध्ये ६ क्याम्पसमा स्ववियु निर्वाचन सम्पन्न

कञ्चनपुर । कञ्चनपुरका १६ मध्ये ६ क्याम्पसमा आइतबार भएको स्ववियु निर्वाचनमा नेविसंघ, अनेरास्ववियु र अखिल क्रान्तिकारीको नेतृत्व समान दुई दुईमा निर्वाचित भएको छ । नेपाली काँग्रेस निकट नेविसंघबाट महाकाली बहुमुखी क्याम्पस बेलौरीमा नीरज भण्डारी र कृष्ण बैजनाथ बहुमुखी क्याम्पस झलारीमा कृष्ण राज जोशी स्ववियु सभापतिमा निर्वाचित हुनु भएको छ ।

त्यस्तै नेकपा एमाले निकट अनेरास्ववियुबाट रौलेश्वर जनता आदर्श बहुमुखी क्याम्पस बेलडाँडीमा दिलेन्द्र प्रसाद बडू र कञ्चन बहुमुखी क्याम्पस गुलरियामा देव बहादुर साउँद स्ववियु सभापतिमा निर्वाचित हुनुभयो । त्यसै गरी नेकपा माओवादी केन्द्र निकट अखिल क्रान्तिकारीबाट जनता क्याम्पस पुनर्वासमा मनोज साउँद र रामपुर बहुमुखी क्याम्पस कलकत्तामा सरस्वती तिरुवा स्ववियु सभापतिमा निर्वाचित हुनु भएको छ ।

त्रिभुवन विश्वविद्यालय सहित सुदूरपश्चिम विश्वविद्यालय र नेपाल संस्कृत विश्वविद्यालयले पनि स्ववियु निर्वाचनको तयारी गरेका थिए । तर कञ्चनपुरका १६ वटा क्याम्पसहरू मध्ये ६ वटा क्याम्पसहरूमा मात्र आइतबार निर्वाचन भयो । निर्वाचन भएका सबै क्याम्पसहरूको अन्तिम मत परिणाम सार्वजनिक भइसकेको छ । दानेश्वरहरी बहुमुखी क्याम्पस जिमुवामा भने यसअघि नै सहमतिका आधारमा स्ववियु समिति चयन गरिएको थियो ।

अन्य ९ क्याम्पसहरूमा भने विद्यार्थी संघसङ्गठनहरूले गरेको तालाबन्दीका कारण चुनाव अनिश्चित बनेको छ । विद्यार्थी आन्दोलनमार्फत गरिएका सहमति कार्यान्वयन गर्न गराउन, क्याम्पस तथा विश्वविद्यालयको नीति निर्माण र कार्यान्वयनमा विद्यार्थी प्रतिनिधित्व सुनिश्चित गर्न, क्याम्पसमा शैक्षिक वातावरण कायम गर्न र विद्यार्थीको चौतर्फी विकासका लागि स्ववियु निर्वाचन गर्ने गरिएको छ । कञ्चनपुरको बेलौरीस्थित महाकाली बहुमुखी क्याम्पस र रामपुर बहुमुखी क्याम्पस तथा बेलडाँडीस्थित रौलेश्वर जनता आदर्श बहुमुखी क्याम्पसमा २०७३ फागुनमा स्ववियु निर्वाचन भएको थियो भने अन्य क्याम्पसहरूमा १४ वर्षपछि मात्रै स्ववियु निर्वाचन भएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button