तपाईँ सुन्दै हुनुहुन्छः

स्ववियु निर्वाचन: मकवानपुर क्याम्पसमा अखिल क्रान्तिकारीका लामा र हेटौँडा क्याम्पसमा अनेरास्ववियुका मैनाली निर्वाचित

मकवानपुर। मकवानपुर बहुमुखी क्याम्पसको स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) को सभापतिमा अखिल क्रान्तिकारीका छोइसाङ लामा निर्वाचित हुनु भएको छ । सोमबार बिहान सार्वजनिक भएको अन्तिम मतपरिणाम अनुसार अखिल क्रान्तिकारीका लामा ८१३ मतसहित निर्वाचित हुनु भएको हो । उहाँका निकटतम् प्रतिस्पर्धी अनेरास्ववियुका नवराज शर्माले ६८२ मत प्राप्त गर्नुभयो ।

यसैगरी, स्ववियु सचिवमा अखिल क्रान्तिकारीको प्यानलका वर्षात घिमिरे, कोषाध्यक्षमा अनेरास्ववियु प्यानलकी हिमानी कुमारी सुवेदी निर्वाचित हुनु भएको छ । यस्तै सदस्यहरूमा अनेरास्ववियु प्यानलबाट प्रसिद्ध रेग्मी, प्रशन श्रेष्ठ, कुशल पराजुली, दिपेश कार्की र झरना थिङ निर्वाचित हुनु भएको छ । क्रान्तिकारी प्यानलबाट नारायण पुडासैनी, सुजन सिलवाल, राहुल डिम्डुङ निर्वाचित हुनु भएको छ । मकवानपुर क्याम्पसमा कुल ३ हजार ९१ मतदाता रहेकोमा आइतबार भएको निर्वाचनमा एक हजार ५७४ मत खसेको थियो ।

त्यस्तै हेटौँडा क्याम्पसको स्ववियु सभापतिमा अनेरास्ववियुका अभि मैनालीको प्यानल विजयी भएको छ । कुल ४७७ मत खसेकोमा मैनालीले २९० मत प्राप्त गर्नुभयो । मैनाली (अनेरास्ववियु र विप्लव नेतृत्वको अनेरास्ववियु क्रान्तिकारी) प्यानबाट विजयी हुनुभएको हो । उहाँका निकटतम् प्रतिस्पर्धी नेविसंघ, अखिल क्रान्तिकारी र राप्रविसंका साँझा उम्मेदवार नेविसंघका राजीव फुयाँले १८५ मत प्राप्त गर्नुभयो । यस्तै सचिवमा अनेरास्ववियु प्यानलबाटै अन्जान खड्का, कोषाध्यक्षमा अनेरास्ववियुकै अविना थापा निर्वाचित हुनुभएको छ ।

यस्तै, सदस्यमा अनेरास्ववियुका तिलक बहादुर पाख्रिन, गणेश तिमल्सिना, नवीन कुमार चौधरी, भरतमोहन देबकोटा र रन्जिता फुयाँल निर्वाचित हुनुभएको छ ।मकवानपुरका ८ मध्ये हिजो सम्पन्न निर्वाचनबाट हेटौँडा–६, स्थित बंशगोपाल बहुमुखी क्याम्पसमा अनेरास्ववियुका दिवस सिलवाल, हेटौँडा–१६, स्थित हटिया–जनप्रिय बहुमुखी क्याम्पसमा अनेरास्ववियु क्रान्तिकारी (विप्लव) का मुना गोले, हेटौँडा–१९, स्थित निर्मल बहुमुखी क्याम्पसमा अनेरास्ववियुका सरोज अर्याल र मनहरी गाउँपालिका स्थित मनहरी बहुमुखी क्याम्पसमा अनेरास्ववियुका कुमार घिसिङ निर्वाचित हुनु भएको छ ।

अब मकवानपुरको वन विज्ञान अध्ययन संस्थानको परिणाम आउन बाँकी छ । भने पालुङ बहुमुखी क्याम्पसमा यसअघि नै निर्विरोध निर्वाचित भइसकेको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button