तपाईँ सुन्दै हुनुहुन्छः

अन्तरपालिका फुटबल: हेटौँडा र थाहा विजयी

मकवानपुर । मकवानपुर जिल्ला स्तरीय दोस्रो अन्तरपालिका पुरुष नकआउट फुटबल प्रतियोगिता अन्तरगत आइतबार भएको खेलमा साविक विजेता थाहा नगरपालिका र उपविजेता हेटौँडा उपमहानगरपालिका विजयी भएका छन् ।

आइतबार भएको पहिलो खेलमा थाहा नगरपालिकाले राक्सिराङ गाउँपालिकालाई र दोस्रो खेलमा हेटौँडाले बकैया गाउँपालिकालाई पराजित गरेको हो ।

आइतबार हेटौँडा–५, पिप्लेस्थित क्याम्पा रङ्गशालामा भएको पहिलो खेलमा साविक विजेता थाहा नगरपालिकाले राक्सिराङ गाउँपालिकालाई शून्यका विरुद्ध तीन गोल अन्तरले पराजित गरेको हो । खेलको पहिलो हाफ गोलरहित बराबरीमा सकिए पनि दोस्रो हाफको ५१ औँ मिनेटमा थाहा नगरपालिकाको तर्फबाट सन्दिप श्रेष्ठले गोल गर्दै टिमलाई अग्रता दिलाएका थिए । त्यस लगत्तै थाहाका तर्फबाट ५४ र अतिरिक्त समयको दोस्रो (७२) मिनेटमा राजन थापाले थप दुई गोल गर्दै टिमलाई जित दिलाए । पहिलो खेलको म्यान अफ दि म्याच पनि दुई गोल गर्ने थापा नै घोषित भए ।

त्यस्तै आजै भएको दोस्रो खेलमा साबिक उपविजेता हेटौँडा उपमहानगरपालिका बकैया गाउँपालिकालाई शून्यका विरुद्ध दुई गोल गर्दै विजयी भयो । हेटौँडाका तर्फबाट रितेश श्रेष्ठले एक गोल गरे भने, एक गोल आत्मघाती भएको थियो । खेलको पहिलो हाफको ३३ औँ मिनेटमा आत्मघाती गोल मार्फत अग्रता बनाएको हेटौँडाका तर्फबाट खेलको दोस्रो हाफको १८ औँ मिनेटमा रितेशले गोल गर्दै टिमलाई २–० को जित दिलाएका हुन । दोस्रो खेलको म्यान अफ दि म्याच पनि रितेश घोषित भए ।

जिल्ला समन्वय समिति (जिसस) मकवानपुरको आयोजना तथा जिल्ला खेलकुद विकास समिति मकवानपुरको व्यवस्थापनमा आगामी चैत्र ११ गतेसम्म सञ्चालन हुने प्रतियोगिताको विजेता टिमले नगद २ लाख रुपैयाँसहित ट्रफी प्राप्त गर्नेछ । यस्तै उपविजेताले नगद १ लाख रुपैयाँ प्राप्त गर्नेछ । प्रतियोगिताको उत्कृष्ट खेलाडीले नगद १० हजार रुपैयाँ प्राप्त गर्नेछ । प्रतियोगिताबाट उत्कृष्ट २४ खेलाडी छनौट गरेर बागमती प्रदेश खेलकुदमा सहभागी गराइने बताइएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button