इटहरी गोल्डकप : चर्च ब्वाइज क्लब सेमिफाइनलमा
सुनसरी । इटहरीमा जारी १३ औँ अन्तर्राष्ट्रिय आमन्त्रण गोल्डकपको दोस्रो क्वाटर फाइनल खेलबाट चर्च ब्वाइज क्लब सेमिफाइनलमा प्रवेश गरेको छ ।

आज (सोमबार) भएको खेलमा चर्च ब्वाइज क्लबले आयोजक राष्ट्रिय जागृति क्लबलाई २–० गोल अन्तरले पराजित गर्दै सेमिफाइनलका लागि स्थान सुरक्षित गरेको हो ।
खेलको ४५ औँ मिनेटमा आशिष चापागाईँले १ गोल गर्दै टिमलाई अग्रता दिलाए । पहिलो हाफमा १–० गोल अन्तरले अगाडि रहेको चर्च ब्वाइजले खेलको ६१ मिनेटमा थप १ गोल गरेको थियो । टिम क्याप्टेन मिलन राईको पासमा मौसम लिम्बूले दोस्रो गोल गर्दै टिमलाई मजबुत बनाए । खेलमा आयोजक राजा क्लब थुप्रै अवसर पाए पनि गोल गर्न चुक्यो ।
इटहरी रङ्गशालामा चैत ११ गतेसम्म सञ्चालन हुने प्रतियोगिताको विजेता टिमले नगद १० लाख र उपविजेता टिमले नगद ५ लाख रुपैयाँ प्राप्त गर्ने आयोजकले जनाएको छ ।
प्रतिक्रिया राख्नुहोस्