तपाईँ सुन्दै हुनुहुन्छः

तिलोत्तमा गोल्डकप : थ्री स्टार सेमिफाइनल प्रवेश

रुपन्देही । बुटवलमा जारी मोफसलको ठूलो राशिको पुरस्कार रहेको तिलोत्तमा गोल्डकपको आइतबार भएको फुटबल प्रतियोगितामा थ्री स्टार क्लब विजयी भएको छ ।

२२ औँ संस्करण अन्तर्गत आइतबार भएको निकै प्रतिस्पर्धात्मक खोलमा हिमालयन शेर्पा क्लबलाई १—० गोल अन्तरले पराजित गर्दै थ्री स्टार विजयी भएको हो । यो जितसँगै थ्री स्टार सेमिफाइनलमा प्रवेश गरेको छ ।

दोस्रो हाफको ३८ मिनेटमा १८ नम्बर जर्सीका खेलाडी दिपेश गुरुङले गरेको गोल नै निर्णायक बनेको थियो । यसअघि शनिबार भएको खेलमा सुदूरपश्चिम-११ विजयी भएको छ । खेलमा हिमालयन शेर्पाका १५ नम्बरका जर्सीका खेलाडी दिवस उराउले पहेँलो कार्ड पाएका थिए । ७ मिनेटको इन्जुरी समयमा पनि कुनै गोल हुन सकेका थिएन । खेलको म्यान अफ द म्याच थ्री स्टारका लोकेन लिम्बु भएका थिए । उनले ११ हजार १ सय ११ रुपैयाँ, करेन्ट चाउचाउ र यति हेल्मेट प्राप्त गरेका छन् ।

रुपन्देही जिल्ला फुटबल सङ्घको आयोजनामा एन्फा टेक्निकल सेन्टर देवीनगरमा चलिरहेको तिलोत्तमा गोल्डकपमा दुई विभागीयसहित ८ टिम सहभागी भएको प्रतियोगिताको विजेताले ११ लाख ११ हजार एक सय ११ रुपैयाँ नगद पुरस्कार पाउने सङ्घले जनाएको छ । गोल्डकपको उपविजेताले ५ लाख ५५ हजार ५ सय ५५ रुपैयाँ पुरस्कार प्राप्त गर्ने छ ।

सर्वोत्कृष्ट खेलाडीले एक लाख रुपैयाँ वा एक थान मोटरसाइकल पुरस्कार पाउँदा उत्कृष्ट फरवार्ड, गोलरक्षक, मिड फिल्डर, डिफेन्स र कोचले जनही ३० हजारका दरले नगद पुरस्कार प्राप्त गर्ने जनाइएको छ ।

भोलि सोमबारको खेल विभागीय टोली नेपाल सशस्त्र प्रहरी (एपीएफ) र फ्रेण्ड्स क्लबबिच दिउसो साँढे ३ बजे हुनेछ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button