तपाईँ सुन्दै हुनुहुन्छः

‘ए’ डिभिजन लिग : पाँचौँ चरणका खेल सम्पन्न

काठमाडौँ । सहिद स्मारक ‘ए’ डिभिजन लिगको पाँचौँ चरणसम्मको खेलहरू सकिएका छन् । अब चैत २० बाट छैटौँ चरणका खेलहरू सुरु हुनेछन् ।

पाँचौँ चरणसम्मको खेल सकिँदा ३५ खेलहरू सकिएको छ । सातदोबाटो यूथ क्लबले शीर्ष स्थान कब्जा गरेको छ । सातदोबाटोले ५ खेलमा १२ अङ्क जोडेको छ । दोस्रो स्थानमा रहेको मनाङ मर्स्याङ्दी क्लबले ११ अङ्क जोडेको छ । नवप्रवेशी क्लब चर्च ब्वाइज युनाईटेड ११ अङ्क जोडेर तेस्रो स्थानमा रहेको छ ।

१० अङ्क जोडेको जावलाखेल यूथ क्लब चौथो र ८ अङ्क जोडेको त्रिभुवन आर्मी क्लब पाँचौँ स्थानमा रहेको छ । पाँचौँ चरणको खेल सकिँदासम्म मनाङ र चर्च ब्वाइज अपराजित छन् । पाँचौँ चरणमा आएर नेपाल पुलिस क्लबले पहिलो एक अङ्क जोडेको छ । पुलिस अङ्क तालिकाको पुछारमा रहेको छ ।

पाँचौँ चरणसम्म कुल ७० गोल भएको छ । विपक्षी टोलीविरुद्ध मनाङ, आर्मी, जावलाखेल र एनआरटीले सर्वाधिक ७–७ गोल गरेका छन् । सर्वाधिक गोल खाने टोली एनआरटी रहेको छ । एनआरटीले ११ गोल व्यहोरेको छ । पाँचौँ चरणसम्म सर्वाधिक गोलकर्ता सातदोबाटोका दीपक सिंह ठकुरी रहेका छन् । उनले ५ खेलमा ४ गोल गरेका छन् । यस्तै थ्री स्टारका अजयी मार्टिन र मनाङका सेदजामोल दाभ्लातजोनोभले समान ३/३ गोल गर्दै शीर्ष तीनमा छन् ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button