तपाईँ सुन्दै हुनुहुन्छः

अनलाइन प्रणाली मार्फत बीमा अभिकर्ता व्यवस्थापन शुरु

काठमाडौँ । नेपाल बीमा प्राधिकरणले बीमा ऐन, २०७९ मा भएको समान किसिमको एक बीमक एक बीमा अभिकर्ताको व्यवस्था कार्यान्वयनका लागि अनलाइन प्रणाली मार्फत एक बीमक एक बीमा अभिकर्ता व्यवस्थापन गर्ने कार्य शुरु गरेको छ ।

प्राधिकरणको केन्द्रीय कार्यालय, कुपण्डोल, ललितपुरमा आज आयोजित कार्यक्रममा नेपाल बीमा प्राधिकरणका अध्यक्ष सूर्यप्रसाद सिलवालले अनलाइन प्रणाली मार्फत एक बीमक एक बीमा अभिकर्ताको व्यवस्थापन गर्ने कार्यको शुभारम्भ गर्नुभयो ।

अध्यक्ष सिलवालले अनलाइन प्रणालीका माध्यमबाट बीमा अभिकर्ताको व्यवस्थापन भएपछि बीमा अभिकर्ताको परिचय, रहने स्थान र आबद्ध कम्पनी लगायतका बारेमा स्पष्ट जानकारी प्राप्त हुने हुँदा बीमा अभिकर्ताको अनुगमन गर्न सहज हुने बताउनुभयो ।

अध्यक्ष सिलवालले बीमा व्यवसायमा वृद्धि भएसँगै बीमा अभिकर्ताको सङ्ख्या पनि बढ्ने भएकाले विश्वसनीय ढंगले जिम्मेवारी बोधका साथ बीमा अधिकर्ताले काम गर्नुपर्ने बताउनुभयो ।

नेपाल बीमा प्राधिकरणका कार्यकारी निर्देशक राजुरमण पौडेलले अनलाइन प्रणालीमार्फत बीमा अभिकर्ताको व्यवस्थापन र इजाजतपत्र नवीकरण कार्यमा कुनै समस्या आउन नदिन र आएमा तत्काल समाधान गर्न निर्देशन दिनुभयो ।

कार्यक्रममा नेपाल बीमा प्राधिकरणका सहायक निर्देशक शम्भु प्रसाद मिश्रले अनलाइन प्रणालीका माध्यमबाट एक बीमक एक अभिकर्ताको व्यवस्थापन र इजाजतपत्र नवीकरण लगायतका बारेमा प्रस्तुती गर्नुभएको थियो ।

कार्यक्रममा नेपाल बीमा प्राधिकरणका निर्देशक कमल प्रसाद रेग्मी र निर्देशक पूजन ढुङ्गेल (अधिकारी) तथा उपनिर्देशकहरू लगायत कर्मचारीहरूको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button