तपाईँ सुन्दै हुनुहुन्छः

चन्द्रनगर गाउँपालिकामा निःशुल्क भिडियो एक्सरे सेवा सुरु

सर्लाही । सर्लाहीको चन्द्रनगर गाउँपालिकामा निःशुल्क भिडियो एक्सरे (अल्ट्रासाउन्ड) सेवा सुरु गरिएको छ। 

समयमै गर्भवती महिलाहरूको गर्भावस्थामा आमा र बच्चाको जटिलता पत्ता लगाई मातृ मृत्युदर र नवजात शिशु मृत्युदर घटाउन चन्द्रनगर गाउँपालिकाले गर्भवती महिलाहरूको लागि निःशुल्क भिडियो एक्सरे सेवा सुरु गरेको छ । 

आइतबार गाउँपालिका अध्यक्ष राजकुमार महतोले वडा नं.२ स्थित बबरगंजमा रहेको स्वास्थ्य चौकीमा ग्रामीण भिडियो एक्सरे (अल्ट्रासाउन्ड) सेवाको उद्घाटन गर्नुभएको छ ।

ग्रामीण अल्ट्रासाउन्ड सेवा वडा नं २ बबरगंजमा  सुचारु गरिए पनि प्रत्येक वडाको स्वास्थ्य संस्थामा सेवा प्रदान गरिने स्वास्थ्य शाखा प्रमुख अमृत चौधरीले जानकारी दिनुभयो । 

ग्रामीण अल्ट्रासाउन्ड सेवा प्रत्येक महिनाको ८ गते वडा नं १ लघुवामा महिला स्वास्थ्य स्वयंसेविकाको घरमा, १८ गते स्वास्थ्य चौकी किसनपुरमा, वडा नं ३ स्थित रहेको आधारभूत स्वास्थ्य सेवा केन्द्र बडकुर्वामा ४ र २४ गते प्रदान गरिने छ । 

यसैगरी, वडा नं ४ स्थित रहेको आधारभूत स्वास्थ्य सेवा केन्द्र पोखरीमा ५ र २० गते, वडा नं ५ स्थित रहेको स्वास्थ्य चौकी मोहनपुरमा १० र १२ गते, वडा नं ६ स्थित स्वास्थ्य चौकी चन्द्रनगरमा ५, १५, २८ गते अल्ट्रासाउन्ड सेवा प्रदान गरिने छ ।

त्यस्तै, वडा नं ७ स्थित रहेको खड्का टोलमा ६ गते तथा आधारभूत स्वास्थ्य सेवा केन्द्र चन्द्रनगरमा १६ गते र बाँकी दिन वडा नं २ मा रहेको स्वास्थ्य चौकी बबरगंजमा निःशुल्क ग्रामीण अल्ट्रासाउन्ड सेवा प्रदान गरिने स्वास्थ्य शाखा प्रमुख चौधरीले जानकारी दिनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button