तपाईँ सुन्दै हुनुहुन्छः

प्रतिनिधिसभामा सङ्क्रमणकालीन न्यायसम्बन्धी विधेयक पेस

काठमाडौँ । प्रतिनिधिसभाको आजको बैठकमा दुई वटा विधेयक पेश भएका छन् । 

बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को तर्फबाट सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले “संवैधानिक परिषद् (काम, कर्तव्य, अधिकार र कार्यविधि) सम्बन्धी (पहिलो संशोधन) विधेयक, २०७९” र “बेपत्ता पारिएका व्यक्तिको छानविन, सत्य निरुपण तथा मेलमिलाप आयोग (तेस्रो संशोधन) विधेयक, २०७९” पेश गर्नुभयो । 

“संवैधानिक परिषद् (काम, कर्तव्य, अधिकार र कार्यविधि) सम्बन्धी (पहिलो संशोधन) विधेयक, २०७९” र “बेपत्ता पारिएका व्यक्तिको छानविन, सत्य निरुपण तथा मेलमिलाप आयोग (तेस्रो संशोधन) विधेयक, २०७९” लाई प्रस्तुत गर्न अनुमति माग्ने प्रस्तावमाथि प्रेम सुवाल र ज्ञानबहादुर शाहीले राख्नुभएको विरोधको सूचनालाई बैठकको बहुमतले अस्वीकृत गरेको थियो । 

यस्तै, प्रतिनिधिसभा नियमावली मस्यौदा समितिका सभापति चित्रबहादुर के.सी.को तर्फबाट सांसद एवं समिति सदस्य रमेश लेखकले प्रस्ताव गर्नुभएको “प्रतिनिधिसभा नियमावली मस्यौदा समितिको प्रतिवेदन, २०७९ माथि विचार गरियोस् भन्ने प्रस्ताव बैठकको सर्वसम्मतिले स्वीकृत गरेको छ ।

बैठकले राष्ट्रिय सभाबाट सन्देशसहित प्राप्त “अनुगमन तथा मूल्याङ्कन विधेयक, २०७८ माथि विचार गरियोस्” भन्ने प्रस्तावलाई बहुमतले स्वीकृत भएको छ ।

यसैगरी, प्रतिनिधिसभाको आजको बैठकमा सभामुख देवराज घिमिरेले राष्ट्रपतिको कार्यालयबाट प्राप्त रिक्त रहेको मन्त्रालयहरुको जिम्मेवारी प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई  कार्यभार तोकिएको सम्बन्धी पत्रको ब्यहोरा जानकारी गराउनुभयो । 

सभामुख घिमिरेले प्रतिनिधिसभा सदस्यको एक स्थान रिक्त रहेको ब्यहोरा पनि सभामा जानकारी गराउनुभयो ।

सभामुख देवराज घिमिरेले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रतिनिधिसभाको भोलि दिउँसो १ः०० बजे बस्ने बैठकमा विश्वासको मत लिने मिति कार्यक्रम रहेको जानकारी गराउनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button