पाल्पामा टिप्परको ठक्करले एक जनाको मृत्यु

पाल्पा । पाल्पाको रिब्दीकोट गाउँपालिका वडा नं. २ मसारमा टिप्परको ठक्करले एक जनाको मृत्यु भएको छ । आज दिउँसो हार्थोक–सर्देवा भित्री कच्ची सडक खण्डमा टिपरले ठक्कर दिँदा पैदलयात्री रिब्दीकोट २ मसारका ६९ वर्षीय होमबहादुर लाम्टाङ्गेको मृत्यु भएको हो ।
सिद्धेश्वर खानीबाट चुनढुङ्गा लिएर बुटवलतर्फ जाँदै गरेको लु २ ख २४४६ नम्बरको टिपरले लाम्टाङ्गेलाई ठक्कर दिएको थियो । बाटोमा हिँडिरहेका लाम्टाङ्गेको घटनास्थलमै ज्यान गएको जिल्ला प्रहरी कार्यालय पाल्पाका सूचना अधिकारी वीरेन्द्र थापाले जानकारी दिनुभयो ।
टिपर र टिपर चालक अहिले प्रहरी नियन्त्रणमा रहेका छन् । घटनाको विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
प्रतिक्रिया राख्नुहोस्