तपाईँ सुन्दै हुनुहुन्छः

इटहरी गोल्डकप : उद्घाटन खेलमा डिफेन्डीङ च्याम्पियन मोरङ विजयी

सुनसरी । साबिक विजेता सगरमाथा फुटबल क्लब मोरङले १३ औँ संस्करणको अन्तर्राष्ट्रिय आमन्त्रण इटहरी गोल्डकप फुटबल प्रतियोगितामा विजयी सुरुवात गरेको छ ।

इटहरी रङ्गशालामा आज भएको उद्घाटन खेलमा बुढासुब्बा गोल्डकप विजेता एभिनियर फुटबल क्लब क्यामरुनलाई पेनाल्टी सुट आउटमा ४–३ गोल अन्तरले पराजित गर्दै सगरमाथाले सेमिफाइनलमा स्थान सुरक्षित गरेको हो ।

निर्धारित समयमा दुवै टिमबाट गोल हुन नसकेपछि खेलको निर्णय पेनाल्टी सुट आउटबाट लिइएको हो । पेनाल्टीमा एभिनियरका साबा अलीको प्रहार क्रस बारमा लागेर बाहिरियो । जोय अल्डोको प्रहार सगरमाथाका गोलकिपर च्यांग थेबेले रोकेका थिए । यानिक ओवना जीओन गिनी र साँघुको प्रहार गोलमा परिणत भयो ।

सगरमाथाका राजीव लोप्चा, मेसुके, अभिषेक राई र अभिषेक लिम्बुले गोल गरे । आजको खेलको म्यान अफ द म्याच सगरमाथाका मेसुके घोषित हुँदै नगद १० हजार पाए ।

भोलिको खेल आयोजक राष्ट्रिय जागृति क्लब र चर्च ब्वाइज क्लब काठमाडौँबिच हुनेछ ।

८ टिम सहभागी गोल्डकप विजेताले नगद १० लाख र उपविजेताले नगद ५ लाख पुरस्कार पाउनेछन् ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button