रुपन्देही सुपर लिगको उपाधि वेष्टर्न क्रिकेट क्लबलाई
रुपन्देही । नेपाल टेलिकम रुपन्देही सुपर लिगको उपाधि बीएम डब्ल्यु वेष्टर्न क्रिकेट क्लब, बुटवलले जितेको छ । शनिबार भैरहवामा सम्पन्न फाइनल खेलमा लुम्बिनी खुकुरी क्लबमाथि ५२ रनको जित निकाल्दै वेष्टर्नले उपाधि जितेको हो । उपाधिसँगै वेष्टर्नले १ लाख रुपैयाँ र ट्रफी हात पारेको छ । उपविजेतामा चित्त बुझाएको लुम्बिनी खुकुरीले ५० हजार र ट्रफी प्राप्त गर्यो ।

सिद्धार्थ रङ्गशालामा टस जितेर ब्याटिङ गरेको वेष्टर्नले मौसमका कारण ३६ ओभरमा झारिएको खेलमा २२.३ ओभरमा सबै विकेट गुमाएर ९४ रनको झिनो योगफल बनाएको थियो । उसका लागि अनिलकुमार साहले २६, अनिल खरेलले २४ र देब खनालले २३ रन बनाए । बलिङमा लुम्बिनी खुकुरीका साहब आलमले ५.३ ओभरमा १ मेर्डनसहित १७ रन खर्चेर ६ विकेट लिए । यस्तै, इकलाख वारिसले १ विकेट लिए ।
प्रतिउत्तरमा ९५ रनको झिनो लक्ष्य पछ्याएको लुम्बिनी खुकुरी २०.१ ओभरमा सम्पूर्ण विकेट गुमाउँदै ५२ रनमै समेटियो र उपविजेतामा चित्त बुझायो ।
प्रतियोगितामा वेष्टर्नका अनिलकुमार साह म्यान अफ द सिरिज भए । उनले १५ हजार रुपैयाँ पुरस्कार प्राप्त गरे । यस्तै, लुम्बिनी खुकुरीका प्रज्वल थापा वेष्ट ब्याटर र इकलाख वारिस वेस्ट बलर बने भने बुटवल राइनोजका सुन्दर आले उदीयमान खेलाडी घोषित भए । उनीहरूले जनही ५ हजारका दरले पुरस्कार प्राप्त गरे ।
रुपन्देही क्रिकेट सङ्घको आयोजनामा सञ्चालित सुपर लिगको यो २२ औँ संस्करण हो । २०५४ सालदेखि सङ्घले नियमित रुपमा सुपर लिग आयोजना गर्दै आएको छ । नेपालमा जिल्ला स्तरमा ५० ओभरको सुपर लिग आयोजना हुने रुपन्देही जिल्लामा मात्रै हो ।
प्रतियोगितामा ए र बी डिभिजनका गरी २० टिमको सहभागिता थियो । विजेता, उपविजेता र उत्कृष्ट खेलाडीहरूलाई नेपाल क्रिकेट संघका अध्यक्ष चतुरबहादुर चन्द, सिद्धार्थनगर नगरपालिकाका उपप्रमुख उमा अधिकारी, नेपाल टेलिकमका निर्देशक शैलेशबहादुर अमात्य, संघका केन्द्रीय सदस्य प्रशान्तविक्रम मल्ल, रुपन्देही क्रिकेट संघका अध्यक्ष हरिबहादुर थापा, सिद्धार्थ उद्योग वाणिज्य संघका अध्यक्ष ठाकुरकुमार श्रेष्ठ लगायतले पुरस्कार प्रदान गर्नुभएको थियो ।
प्रतिक्रिया राख्नुहोस्