तपाईँ सुन्दै हुनुहुन्छः

‘संघीय निजामती ऐन संसद्को चालु अधिवेशनमै टेबुल हुन्छ’

जनकपुरधाम । संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री अमनलाल मोदीले संघीय निजामती ऐन संसद्को चालु अधिवेशनमा टेबुल हुने बताउनुभएको छ ।

मन्त्री मोदीले नेपाल राष्ट्रिय कर्मचारी सङ्गठन निजामती मधेश प्रदेश समितिको दोस्रो प्रदेश अधिवेशनको जनकपुरधाममा उद्घाटन गर्दै संघीय निजामती ऐनको अभावले कतिपय महत्वपूर्ण कामकाज रोकिएको विषयमा सरकार जानकार भएको बताउनुभयो ।

उहाँले अब आउने संघीय निजामती ऐनले कर्मचारीलाई आफ्नो पेशा, देश र जनताप्रति बढी जिम्मेवार बनाउने बताउनुभयो । उहाँले संघीय निजामती ऐनको अभावका कारणले प्रदेशमा कर्मचारीको समस्या भइरहेका कारणले ऐन सरकारले टेबुल गर्ने र संसदले त्यसमा छलफल गरेर पास गर्ने विश्वास व्यक्त गर्नुभयो ।

नेपाल राष्ट्रिय कर्मचारी सङ्गठन निजामती मधेश प्रदेशका अध्यक्ष विनोद कुमार चौधरीको अध्यक्षतामा भएको कार्यक्रममा सङ्गठनका केन्द्रीय अध्यक्ष हरिबहादुर रावलले कर्मचारीहरूको ट्रेड युनियनको अधिकारलाई कटौती गर्न खोजे त्यो आफूहरूलाई स्वीकार नहुने बताउनुभयो ।

कार्यक्रममा मधेश प्रदेशका उद्योग, पर्यटन तथा वनमन्त्री सुनिता यादव, नेकपा माओवादी केन्द्रका सचिव मातृका प्रसाद यादव, स्थायी कमिटीका सदस्य प्रह्लाद बुढाथोकी, धनुषाका प्रमुख जिल्ला अधिकारी काशीराज दाहाल तथा विभिन्न निजामती कर्मचारी सङ्गठनका प्रतिनिधिहरू सहभागिता रहेको थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button