तपाईँ सुन्दै हुनुहुन्छः

जन्मदिनमा २५ वटा रोड लाइट, पुलमा ३६ वटा राष्ट्रिय झण्डा

वीरगञ्ज । जन्मदिनमा फजुल खर्च गर्नुभन्दा समाज परिवर्तनका लागि समेत केही गर्न सकिन्छ भन्ने उदाहरण पर्सा ठोरी गाउँपालिका ३, ब्रम्हनगरका युवा राकेश लामाले देखाएका छन् ।

ठोरी घर भई हाल जापान बस्दै आएका नेपाल–जापान एनआरएनका युवा संयोजक राकेश लामाले आफ्नो जन्मदिनको अवसरमा ठोरीको सिकारी बास पुलमा ३६ वटा नेपालको राष्ट्रिय झण्डा राख्न लगाएका छन् ।

त्यसैगरी लामाले राष्ट्रिय झन्डाका साथै ठोरीका विद्यालयहरूलाई आजै २५ थान पङ्खा हस्तान्तरण गरेका छन् भने ठोरीको हुलाकी सडकमा पर्ने जङ्गलमा राख्नको लागि २५ वटा रोडलाइट समेत उपलब्ध गराएका छन् ।

त्यसैगरी ठोरीमा अत्यधिक सवारी दुर्घटना भइरहेको सिकारी बास पुल नजिकै “अति दुर्घटना ग्रस्त क्षेत्र” लेखिएको सन्देशमूलक बोर्ड समेत उनले राखेका छन् ।

सिकारी बास पुलमा आयोजित कार्यक्रममा लामाका बुबा राजेश लामाले ठोरी गाउँपालिकाका अध्यक्ष लालबहादुर श्रेष्ठलाई झन्डासहित रोडलाइट, पङ्खा लगायतका सामग्री हस्तान्तरण गर्नुभयो ।

त्यस अवसरमा अध्यक्ष श्रेष्ठले राकेश लामाबाट युवाहरूले धेरै कुरा सिक्नुपर्ने बताउनुभयो ।

जन्मदिनमा सामान्यतया युवाहरूले फजुल खर्च गर्ने प्रवृत्ति बढ्दै गएको बेला लामाले जन्मदिन समाज सेवा गरेर समेत मनाउन सकिन्छ भन्ने सन्देश दिएका छन् ।

विदेशमा रहेर पनि आफ्नो जन्मभूमिप्रति राकेशले देखाएको माया र सहयोगलाई गाउँपालिकाले सधैँ सम्मान गर्ने अध्यक्ष श्रेष्ठले बताउनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button