तपाईँ सुन्दै हुनुहुन्छः

राष्ट्रपतिद्वारा कुमारीको दर्शन

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले आज वसन्तपुरस्थित कुमारी घर पुगेर जीवित देवी कुमारीको दर्शन गर्नुभएको छ ।

आज अपराह्न वसन्तपुरस्थित कुमारी घर पुग्नुभएका राष्ट्रपति पौडेलले कुमारीको दर्शन गरी प्रसाद ग्रहण गर्नुभएको उहाँका प्रेस संयोजक खिला कार्कीले जानकारी दिनुभयो । 

राष्ट्रपतिलाई कुमारी घरका अध्यक्ष गौतमरत्न शाक्य, प्रतिनिधिसभा सदस्य सपना राजभण्डारी, प्रदेशसभा सदस्य शैलेन्द्रमान बज्राचार्यलगायतले कुमारी घरमा स्वागत गर्नुभएको थियो । 

राष्ट्रप्रमुख भएपछि जीवित देवी कुमारीको दर्शन गर्न जाने परम्पराअनुसार राष्ट्रपति पौडेल दर्शन गर्न जानुभएको हो । राष्ट्रपति पौडेल कुमारीको दर्शन गर्न जाँदा सडक खाली नगरी जानुभएको थियो ।

कुमारीको दर्शनपछि राष्ट्रपति पौडेलले प्रसाद ग्रहण गर्नुका साथै कुमारी घरमा चियापान गरेर फर्कनुभएको थियो । राष्ट्रपति पौडेलले पहिलोपल्ट कुमारी घरमा चिया पिउनुभएको हो । यसअघि राष्ट्र प्रमुखले कुमारी घरमा चिया पिउने चलन थिएन ।

यसअघि, आजै कुमारी घरको प्रतिनिधिमण्डलले राष्ट्रपति निवास शीतल निवास पुगेर राष्ट्रपति पौडेललाई बधाई दिएको थियो । कुमारी घरमा हरेक महिनाको दशमीको दिन जीवित देवी कुमारीको पूजा हुने र एकादशीका दिन राष्ट्रप्रमुखसमक्ष सो पूजाको प्रसाद पुर्‍याउने परम्परा छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button