‘कानून व्यवसायीले कानून र दायित्वभित्र रहेर काम गर्नुपर्छ’
काठमाडौँ । कायम मुकायम प्रधानन्यायाधीश हरिकृष्ण कार्कीले कानून व्यवसायीहरूको मेहनत, लगनशीलता, इमानदारिता र योगदानले न्यायपालिकाको गुणस्तर अभिवृद्धि हुने बताउनुभएको छ ।

नेपाल कानून व्यवसायी परिषद्ले आयोजना गरेको अधिवक्ताको ३० औँ परीक्षामा उतीर्ण भएका कानून व्यवसायीहरूको लागि सञ्चालित पूर्व व्यावसायिक आधारभूत तालिम उद्घाटन कार्यक्रममा उहाँले कानून व्यवसायीहरू संविधानको संरक्षक र पालक भएकोले कानून र दायित्वभित्र रहेर काम गर्नुपर्ने बताउनुभयो ।
कानून व्यवसायीहरू कानूनी शासनको प्रवर्द्धक रहेको हुँदा न्यायालयप्रति अन्याय नगर्न नवोदित कानून व्यवसायीहरूले सबैको पक्षमा न्याय हुने गरी काम गर्नुपर्नेमा कामु प्रधानन्यायाधीश कार्कीले जोड दिनुभयो ।

कानून व्यवसायको क्षेत्रमा सुधार नभएसम्म न्यायपूर्ण समाजको स्थापना हुन नसक्ने उहाँले उल्लेख गर्नुहुँदै स्वच्छ र निष्पक्ष न्याय सम्पादन गर्न कानून व्यवसायीहरूको अहम् भूमिका रहेको बताउनुभयो ।
कामु प्रधानन्यायाधीश कार्कीले प्रविधिमैत्री अदालत बनाउने प्रयासमा रहेको उहाँले जानकारी दिनुभयो । अदालतमा न्यायाधीशहरूको सङ्ख्या कम भएकाले मुद्दाहरूको चाप दिनप्रतिदिन बढ्दै गएको समस्या समाधान गर्न लागिपरेको समेत जानकारी दिनुभयो ।
कार्यक्रममा न्याय तथा संसदीय मामिला मन्त्रालयका सचिव धनराज ज्ञवाली, परिषद्का उपाध्यक्ष एवं नेपाल बार एशोसिएशनका अध्यक्ष वरिष्ठ अधिवक्ता गोपालकृष्ण घिमिरे, परिषद्का अध्यक्ष एवं नेपाल राज्यका महान्यायाधिवक्ता डा.दिनमणि पोखरेल, लयर्स एकेडेमी समितिका संयोजक वरिष्ठ अधिवक्ता सतिशकृष्ण खरेल लगायतकाले मन्तव्य राख्नुभएको थियो ।
प्रतिक्रिया राख्नुहोस्