तपाईँ सुन्दै हुनुहुन्छः

इलाममा कोरोनाविरुद्धको बुस्टर खोप दिइँदै

मङ्गलबारे। सरकारको नियमित कार्यक्रमअन्तर्गत देशैभर कोरोनाविरुद्धको बुस्टर खोप दिइँदै छ । कोरोना भाइरस कोभिड–१९ विरुद्धको दोस्रो बुस्टर डोज खोप इलाममा चैत्त ३ गतेबाट दिइने भएको हो ।

चैत ३ गतेदेखि चैत ७ गतेसम्म जिल्लाका सबै पालिकाका स्वास्थ्य संस्था र नियमति खोप केन्द्रमार्फत यो खोप दिइने भएको हो । स्वास्थ्य कार्यालय इलामका प्रमुख आदित्य शाक्यका अनुसार यो खोप सबैले लगाउन मिल्ने बताउनुभयो । उहाँले १२ वर्षमाथिमा सबैलाई खोप दिइने बताउनुभयो । गर्भवती महिला, दीर्घ रोगीलगायतले समेत यो खोप लगाउन मिल्छ ।

पहिलो र दोस्रो खोपको मात्रा लगाएकालाई मात्र बुस्टर डोजका रुपमा यो खोप लगाइन्छ । नियमित खोप लगाएकाका लागि यो चौथो डोज हो । पहिलो बुस्टर मात्रा खोप लगाएको छ महिना पूरा भएकालाई दोस्रो बुस्टर खोप दिइने उहाँको भनाइ छ । पहिलो बुस्टर डोज लगाएको छ महिना पूरा भएका ५५ वर्षमाथिका फ्रन्टलाइनमा खटिने सबै नागरिकलाई यो खोप दिइने छ । रोग प्रतिरोधात्मक क्षमता कम भएका वा त्यस्ता औषधि प्रयोग गरिरहेका ११ हजार चार सय ९२ जना नागरिकलाई खोप लगाउने लक्ष्य लिएको स्वास्थ्य कार्यालय इलामका खोप अधिकृत गङ्गाधर पण्डितले जानकारी दिनुभयो ।

जिल्लामा १२ वर्षमाथिका ६३ हजार चार सय ९३ जना नागरिकलाई पहिलो बुस्टर डोज लगाइने लक्ष्य लिएको छ । कोरोना भाइरसको सङ्क्रमण घट्दै गएपछि खोप लगाउनसमेत नागरिले वास्ता नगरेको पाइएको छ । दोस्रो खोप लगाएको तीन महिना पुगेकालाई पहिलो बुस्टर र पहिलो लगाएको छ महिना पुगेकालाई दोस्रो बुस्टरको फाइजर बायोएनटेक खोप दिइने भएको छ । इलामका सबै स्थानीय तहका स्वास्थ्य संस्था र नियमित खोप केन्द्र गरी दुई सय २५ स्थानबाट यो खोप दिइने व्यवस्था मिलाइएको छ ।

विश्व स्वास्थ्य सङ्गठनबाट मान्यता प्राप्त भएको यस खोपले कुनै असर नगर्ने भएकाले यस खोप लगाउन सकैलाई आह्वान गरिएको छ । इलाममा दुई लाख १७ हजार चार सय ७३ रहेकोमा पहिलो मात्राको खोप लगाउने सङ्ख्या एक लाख ९९ हजार तीन सय ८८ लाई लगाइएको छ ।

दोस्रो मात्राको खोप लगाउनेको सङ्ख्या एक लाख ८४ हजार आठ सय १४ रहेको छ । पहिलो बुस्टर डोज लगाउने सङ्ख्या एक लाख २१ हजार तीन सय २१ रहेको स्वास्थ्य कार्यालयले जनाएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button