तपाईँ सुन्दै हुनुहुन्छः

गोद्धकमा गोद्धक राम चरित्रकथा यज्ञ हुने

चितवन । धार्मिक एवं पुरातात्त्विक महत्त्व बोकेको चितवनको माडी–१ स्थित गोद्धकमा यसपटक भव्य गोद्धक राम चरित्रकथा यज्ञ हुने भएको छ । मेला स्थल गोद्धकमा मङ्गलवार आयोजना गरिएको पत्रकार सम्मेलनमा गोद्धक क्षेत्र विकास समितिका अध्यक्ष तुलसिंह गुरुङले चैत्र १३ गतेदेखि १७ गतेसम्म ५ दिनसम्म भव्यरुपमा यज्ञ हुने बताउनुभयो । यज्ञसँगै गोद्धक मेलामा हरेक दिन सांस्कृतिक कार्यक्रम, ठेलो फाल्ने प्रतियोगिता, भलिबल प्रतियोगिता गरिने बताउनुभयो ।

माडी नगरपालिका वडा नम्बर १ का वडा अध्यक्ष अमितकुमार लामाले गोद्धक क्षेत्रमा पर्ने परशुरामकुण्ड, अष्ठमुख शिललिङ्, भिमसेन मन्दिर वाल्मीकि आश्रम लगायतका स्थानको प्रवद्र्धनका लागि नगरपालिकाबाट १५ लाख र वडाबाट ५ लाख गरी २० लाख बजेट विनियोजन गरिएको बताउनुभयो । तटबन्धन, कुण्ड सरसफाई, सत्तल निर्माण, मन्दिर व्यवस्थापन, खानेपानी लगायतका कार्यमा खर्च गरिने बताउँदै आवश्यक सहयोग गरिने बताउनुभयो ।   

गोद्धक राम चरित्र कथा यज्ञ सञ्चालन मुल समितिका संयोजक भरतप्रसाद तिमिल्सेनाले १३ गते कलशयात्रा सहित भव्य कार्यक्रम हुने बताउँदै १८५ सदस्यीय यज्ञ सम्पादन समिति र विभिन्न उप समिति समेत गठन गरिएको बताउनुभयो ।

संस्कार, सांस्कृतिक र प्राकृतिक सम्पदाको विकास, संरक्षण र सम्भार: पर्यटन विकासको मूल आधार भन्ने मुल नाराका साथ मेला आयोजना गरिएको गोद्धक क्षेत्र विकास समितिका सचिव गंगा भुसालले बताउनुभयो ।  

गोद्धक क्षेत्र विकास समितिका सदस्य रामजी सापकोटाले गोद्धक क्षेत्रको धार्मिक, ऐतिहासिक, पौराणिक, पुरातात्त्विक लगायत विभिन्न पक्षको महत्त्वको प्रचार प्रसार गरी पर्यटन तथा धार्मिक पर्यटनको विकास गर्ने हेतुले प्रखरवाचक चैतन्यकृष्णको मुखारविन्दबाट राम कथा वाचन हुने बताउनुभयो ।

मध्यवर्ती क्षेत्र पाँच पाण्डव बगई उपभोक्ता समितिका अध्यक्ष नारायणदत्त सापकोटाले यस क्षेत्रको विकासका लागि चितवन राष्ट्रिय निकुञ्जसँग समन्वय गर्दै यहाँका संरचना निर्माणका लागि मध्यवर्ती समितिले काम गरिरहेको बताउनुभयो ।

पण्डित सुदर्शन सुवेदीले गोद्धक क्षेत्रको महत्त्व, परशुरामले तपस्या गरेको, नेपालकै एकमात्र पाँच पाण्डव मन्दिर, रेवा गङ्गाको महिमा, यहाँ रहेका शालिग्रामको महत्त्वबारे प्रकाश पार्दै माडी धार्मिक पर्यटकीय स्थलका रुपमा प्रख्यात क्षेत्र रहेको बताउनुभयो ।

माडी पर्यटन विकास समितिका पूर्व अध्यक्ष नारायण पौडेलले प्रचार प्रसारकै कारण ओझेलमा परेको जनाउँदै सबै यसको प्रवद्र्धनका लागि जुट्नुपर्ने बताउनुभयो ।  

सो अवसरमा जनप्रतिनिधिहरुहरु जयनारायण श्रेष्ठ, जीवलाल लुइँटेल, फागुराम महतो, गोद्धक क्षेत्र विकास समितिका उपाध्यक्ष धनबहादुर गुरुङ, सहसचिव शिवबहादुर कार्की, कोषाध्यक्ष सीता तिमिल्सेना, गोद्धक मेला व्यवस्थापन समितिका पूर्व सचिव तुलबहादुर नेपाली लगायतको उपस्थिति रहेको थियो ।

गोद्धक क्षेत्रका बारेमा महाभारत तथा रामायणमा रोचक कथा समेटिएका छन् । यहाँ नेपालका विभिन्न जिल्ला तथा भारतदेखि पनि दर्शनार्थी आउने गर्दछन् । यहाँ गोद्धकनाथ बाबा मन्दिर, शिवमन्दिर, सीता गुफा, परशुराम कुण्ड, द्रौपदी कुण्ड, कुकुरनाथ, बिरालोनाथलगायत प्राचीन एवम् धार्मिक महत्त्व बोकेका क्षेत्र गोद्धक क्षेत्रमा प्रशस्तै छन् । मरोट क्षेत्र नजिकैको चौरमा मेला लाग्ने गर्दछ । परशुराम कुण्डमा स्नान गर्न आउने भक्तजनका लागि देउता खोला हुँदै कुण्डसम्म झाडी सरसफाई एवं सामान्य गोरेटो बनाउने संस्थाले जनाएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button