सङ्कटमा सिलौटो बनाउने पेशा

रोल्पा । दलनदेखि पिठो पिँध्नका लागि आवश्यक जाँतो तथा मसला पिसानीका लागि आवश्यक आवश्यक ओखल तथा सिलौटोका प्रयोग घट्दै गएको छ । आधुनिकतासँगै भित्रिएको दाल, गहुँ पिँध्ने मिल र मसला पिँध्ने विद्यतीय उपकरणका कारण जाँतो र सिलौटो बिक्री हुन छाडेपछि परम्परागत सिलौटो बनाउने पेशा सङ्कटमा पर्दै गएको हाे ।
रोल्पाको सुनछहारी गाउँपालिका वडा नम्बर ५ जैमाकसलास्थीत थनावाङ निवासी जस्मान विष्टको आम्दानीको स्रोत पुर्खौली सिलौटो बनाउने हो । आधुनिक मेसिनहरूले आफ्नो पेशा सङ्कटमा पर्दै गएपनि विष्टले आफ्नो परम्परागत पेसालाई जारी नै राख्नु भएको छ । पुर्ख्यौली चाखी ,सिलौटो बनाउने र बिक्री गर्ने पेशा सङ्कटमा पर्दै भएपछि अहिले उहाँले उत्पादन गर्नुभएका सिलौटाहरू रोल्पामा विक्री हुन छाडेका छन् । रोल्पामा बिक्री हुन नसकेपछी जिल्ला बाहिर दाङतर्फ बिक्री गर्नको लागी विष्ट गाडीमा सिलौटा लोड गर्दै गरेको अवस्थामा भेटिनुभयो ।

घर देखी नजिकैको पहाडमा भएको ढुङ्गा खानीबाट निकै मेहेनतकासाथ ढुङ्गा निकालेर र त्यसलाई छिनाले कुँदेर चिटिक्क पारेर आकर्षक सिलौटा तयार हुन्छ । खानको लागी अनाज तथा दाल, पिठो पिस्नको लागी पुर्खौँदेखि प्रयोगमा आउने चाखी र अचार पिस्ने सिलौटो यत्तिखेर बेच्न मुश्किल भएको बिष्ट बताउनुहुन्छ । चाखी तथा सिलौटो बिक्री गरेर भएको आम्दानीबाट घर व्यवहार चलाउने गरेको तर पहिलेको तुलनामा पछिल्लो समय चाखी, सिलौटाको बिक्री घट्दै गएको विष्टले बताउनुभयो ।
बिजुलीबाट चल्ने मिक्स्चर तथा मिल भित्रिएपछि चाखी सिलौटो सङ्कटमा परेको भएतापनी परम्परागत सीपको संरक्षण गर्दै थोरै भए पनि आम्दानी हुन्छ कि भनेर पुर्खौली पेसालाई निरन्तरता दिँदै आएको उहाँले बताउनुभयो । केही वर्षअघिसम्म खानीबाट दैनिक तीन देखि चार वटा चाखी तथा सिलौटोहरू बिक्री हुने गर्दथ्यो तर पछिल्लो समय एक वर्षमा करिब ४० देखि ५० वटासम्म मुस्किलले बिक्री हुने गरेको उहाँले बताउनुभयो । विष्टका अनुसार सुनछहारीमा यो पेसाबाट जिविको उपार्जन गर्दै आइरहेका १५ घर परिवार छन् । आफूले गर्दैआएको पेशाबाट आम्दानी हुन छाडेपछि धेरै जसोले यो पेशा छोड्दै गएको विष्टले बताउनुभयो ।
प्रतिक्रिया राख्नुहोस्