तपाईँ सुन्दै हुनुहुन्छः

कैलालीमा यस वर्ष ११ सय हेक्टर क्षेत्रफलमा चैते धान लगाइँदै

टीकापुर कैलाली । कैलालीमा यस वर्ष ११ सय हेक्टर क्षेत्रफलमा चैते धान खेती गर्न लागिएको छ  ।

कृषि ज्ञान केन्द्र कैलाली, स्थानीय सरकार र रानी जमरा कुलरिया सिँचाई आयोजना कृषि तर्फको सहयोग तथा किसानको आफ्नै पहलमा उक्त क्षेत्रफलमा चैते धान खेती गर्न लागिएको हो । 

कृषि ज्ञान केन्द्र कैलालीको अनुदान सहयोगमा विभिन्न २२ वटा कृषक, कृषि सहकारी र समूहमा गरि मुख्यमन्त्री नमुना कृषि गाउँ, ब्लक प्रदर्शन, धानबाली प्रवर्द्धन र चैते धान खेती विस्तार कार्यक्रम अन्तर्गत कैलालीमा चैते धान खेती गरिँदै छ  । उक्त धान खेती जिल्लाको भजनी, टीकापुर, घोडाघोडी नगरपालिका र कैलारी, जोशीपुर, जानकी, बर्दगोरिया गाउँपालिकामा गरिन लागेको कृषि ज्ञान केन्द्र कैलालीका बाली विकास अधिकृत राम नारायण चौधरीले जानकारी दिनुभयो । 

रानी जमरा कुलरिया सिँचाई आयोजना कृषि तर्फले चैते धान खेतीको लागि किसानसँग आवेदन माग गरेको र जस अनुसार अहिले टीकापुर क्षेत्रमा चैते धान खेतीको सहयोगको कार्यक्रम रहेको आयोजनाका बाली विकास अधिकृत जय बहादुर महतराले बताउनुभयो ।

किसानलाई चैते धान खेतीको लागि बीउ तथा यान्त्रीकरणमा ५० प्रतिशत अनुदान दिएको छ । सिँचाई सुविधाको सहजता भएको ठाउँमा चैते धान खेतीको उत्पादन प्रति हेक्टरमा ६० क्विन्टलसम्म रहेको छ । 

वर्षादको समयमा डुबान हुने क्षेत्रमा चैते धानको राम्रो उत्पादन हुने भएकाले पछिल्लो समय कैलालीका डुबान क्षेत्रका किसानहरू त्यसतर्फ आकर्षित भइरहेका छन् । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button