तपाईँ सुन्दै हुनुहुन्छः

प्रविधिको दुरुपयोगले बढाएको महिला हिंसा नियन्त्रण गर्न नीतिगत सुधार आवश्यक : मन्त्री शर्मा

काठमाडौं । सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले प्रविधिको दुरुपयोगले बढाएको महिला हिंसा नियन्त्रण गर्न कानुनी तथा नीतिगत सुधार आवश्यक रहेको बताउनुभएको छ । महिला सुरक्षा दबाब समूहले आज काठमाडौंमा गरेको अन्तरक्रिया कार्यक्रममा मन्त्री शर्माले सूचना प्रविधिको दुरुपयोग गरी महिला तथा किशोरीहरू माथि हुने हिंसा नियन्त्रण गर्न सक्ने गरी साइबर अपराधसम्वन्धि नीति बन्नुपर्ने बताउनुभयो ।

मन्त्री शर्माले विश्वका अन्य विकसित देशहरूले प्रयोग गर्ने प्रायः सबै प्रविधिहरू नेपालमा समेत प्रयोग भइरहे पनि हालसम्म यसको प्रयोगलाई व्यवस्थित गर्ने छुट्टै नीतिगत व्यवस्था नहुँदा यसको दुरुपयोग बढ्दै गएको बताउनुभयो ।

मन्त्री शर्माले सामाजिक सञ्जाल लगायतका सञ्चार माध्यममा महिलाका सकारात्मक भन्दा नकारात्मक विषयहरूले बढी चर्चा पाउने गरेका कारण आफ्नो क्षमता देखाउन समेत हच्किनुपर्ने अवस्था रहेको बताउनुभयो ।

अन्तर्राष्ट्रिय महिला दिवसको अवसर पारेर आयोजना गरिएको अन्तरक्रियामा मन्त्री शर्माले राजनीतिक परिवर्तनका लागि भएका आन्दोलनहरूमा महिलाले खेलेको भूमिका र योगदानको उचित कदर हुन नसकेको र सामाजिक विभेदका कारण अवसरबाट वञ्चित हुनुपर्ने अवस्था रहेको पनि बताउनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button