तपाईँ सुन्दै हुनुहुन्छः

राप्रपा अध्यक्षसँग पौडेलको भेट, सहयोगको आग्रह

काठमाडौँ । फागुन २५ गते हुने राष्ट्रपतिको निर्वाचनमा नेपाली काँग्रेसबाट राष्ट्रपतिका उम्मेदवार वरिष्ठ नेता रामचन्द्र पौडेलले राष्ट्रिय प्रजातन्त्र पार्टीलाई सहयोग गर्न आग्रह गर्नुभएको छ ।

राप्रपा पार्टी कार्यालय आज पुगेर वरिष्ठ नेता पौडेलले राष्ट्रपतिमा आफूलाई सहयोग र समर्थन गर्न राप्रपा अध्यक्ष राजेन्द्रप्रसाद लिङदेनलाई आग्रह गर्नुभएको हो ।

राप्रपाका प्रवक्ता मोहन श्रेष्ठले पार्टीको बैठकबाट निर्णय गर्ने बताउनुभयो ।

आठ दलीय गठबन्धनका साझा उम्मेदवार कांग्रेसका वरिष्ठ नेता पौडेलले नेता तथा सांसदहरूसँगको भेटलाई तीव्रता दिनुभएको छ ।

पौडेलले आज बिहान नेकपा एकीकृत समाजवादीका नेता झलनाथ खनालसँग समेत भेट गर्नुभएको थियो ।

आठ दलीय गठबन्धनका तर्फबाट पौडेल र नेकपा एमालेका तर्फबाट उपाध्यक्ष सुवास नेम्वाङ राष्ट्रपति पदका लागि उम्मेदवार बन्नुभएको छ ।

निर्वाचनका लागि आयोगले निर्वाचन आयोग ऐन, २०७३ को दफा २२ ले दिएको अधिकार प्रयोग गरी आयोगले २०७९ फागुन १७ गतेदेखि चैत ५ गतेसम्म कायम रहने गरी निर्वाचन आचारसंहिता, २०७९ जारी समेत गरिएको छ ।

निर्वाचन आयोगले फागुन २२ गते मध्यरातदेखि फागुन २५ गते मतदान केन्द्र बन्द नभएसम्म प्रचारप्रसार निषेधको अवधि कायम रहने जनाएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button