तपाईँ सुन्दै हुनुहुन्छः

‘ए’ डिभिजन लिग: सातदोबाटो यूथ क्लबको विजयी सुरुवात

काठमाडौँ । सातदोबाटो यूथ क्लबले नयाँ सिजनको सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबलमा विजयी सुरुआत गरेको छ ।

च्यासल रङ्गशालामा आइतबार न्यु रोड टिम एनआरटीलाई २–१ गोल अन्तरले हराउँदै सातदोबाटोले सुखद सुरुआत गरेको छ । सातदोबाटोको जितमा दीपक राज ठकुरीले दुई गोल गरे । एनआरटीका निकोलस सङले एक गोल फर्काए ।

file photo

खेलको ४५ औँ मिनेटमा दीपकले गोल गर्दै सातदोबाटोलाई सुरुआती अग्रता दिलाएका थिए । तर, पहिलो हाफको इन्जुरी समयमा निकोलसले गोल गर्दै एनआरटीलाई १–१ को बराबरीमा ल्याए । त्यसपछि खेलको ८४ औँ मिनेटमा दीपकले व्यक्तिगत दोस्रो गोल गर्दै सातदोबाटोलाई २–१ को जित दिलाए ।

यस जितसँगै सातदोबाटोले पहिलो खेलमै महत्वपूर्ण ३ अङ्क जोडेको छ । एनआरटीले भने हारबाट प्रतियोगिताको सुरुआत गरेको छ ।

अर्को खेलमा विभागीय त्रिभुवन आर्मी फुटबल क्लब र सङ्कटा क्लबले बराबरी खेल्दै अङ्क बाँडेका छन् ।

आर्मी र सङ्कटाले गोलरहित बराबरी खेल्दै यस सिजनको लिगको सुरुवात गरेको हो । त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा भएको खेलमा दुवै टोलीले गोलका अवसर सिर्जना गरे पनि सदुपयोग गर्न नसक्दा खेल बराबरीमा रोकिन पुग्यो । यस बराबरीसँगै दुवै टोलीले समान १ अङ्क जोडेका छन् ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button