तपाईँ सुन्दै हुनुहुन्छः

दूरसञ्चार सेवालाई गुणस्तरीय, भरपर्दो र सर्वसुलभ बनाउनु अहिलेको आवश्यकता : मन्त्री शर्मा 

काठमाडौँ । सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले दूरसञ्चार सेवालाई गुणस्तरीय, भरपर्दो र सर्वसुलभ बनाउनु अहिलेको आवश्यकता रहेको बताउनुभएको छ । 

नेपाल दूरसञ्चार प्राधिकरणको रजत जयन्तीको अवसरमा काठमाडौँमा आज आयोजित कार्यक्रममा मन्त्री शर्माले दूरसञ्चार सेवाका नीतिगत, कानूनी र संरचनामा सुधार गर्दै दूरसञ्चार सेवाको विकास र बिस्तार गर्न आवश्यक रहेको बताउनुभयो । 

मन्त्री शर्माले दूरसञ्चार क्षेत्रका विकृति र विसङ्गतिहरू हटाउँदै यसको नियमनलाई थप प्रभावकारी बनाइनुपर्ने समेत बताउनुभयो । 

उहाँले दूरसञ्चार क्षेत्रका नवीनतम प्रविधिहरूको अध्ययन, अनुसन्धान गर्दै नीतिगत र कानूनी प्रबन्धमार्फत त्यसको लाभ ग्राहक वर्गले लिनसक्ने गरी ठोस कार्य योजना बनाएर लागू गर्न आग्रह गर्नुभयो । 

उहाँले साइबर सुरक्षा, गोपनीयता सुरक्षा र तथ्याङ्क सुरक्षा कायम गर्ने कार्य सरकारको पहिलो प्राथमिकतामा रहेको र मन्त्रालयले समायानुकुल कानून परिमार्जन र नीति निर्माणको कार्यलाई मन्त्रालयले प्राथमिकतामा राखेको जानकारी दिनुभयो । 

मन्त्री शर्माले सबै प्रकारका विपद्मा पनि दूरसञ्चार सेवालाई निरन्तर सुचारु राख्ने गरी काम गर्न आवश्यक रहेको भन्दै नियामक निकाय र सेवा प्रदायक संस्थाहरू सेवाग्राहीसँग गम्भीर बन्न जरुरी रहेको स्पष्ट पार्नुभयो । 

मन्त्रालयका निमित्त सचिव नेत्रप्रसाद सुवेदीले चुनौतीपूर्ण भूमिकामा रहेको प्राधिकरणले त्रुटिहरूलाई कम गराउँदै सेवालाई गुणस्तरीय बनाउन भूमिका खेल्नुपर्ने बताउनुभयो । 

उहाँले प्राधिकरणले दूरसञ्चार सेवालाई निरन्तर सुधारको कोणबाट हेर्न आवश्यक रहेको भन्दै नयाँ समस्याको समाधान पनि नयाँ तरिकाले नै खोज्नुपर्ने औँल्याउनुभयो ।

प्राधिकरणका अध्यक्ष पुरुषोत्तम खनालले प्राधिकरण दूरसञ्चार सेवालाई गुणस्तरीय, भरपर्दो र सर्वसुलभ बनाउन सदैव क्रियाशील रहेको बताउनुभयो । 

सरकारले अघि सारेको डिजिटल नेपालको लक्ष्यलाई साकार बनाउन प्राधिकरण प्रयत्नशील रहेको भन्दै उहाँले नवीनतम सेवालाई पनि नियमनको दायरामा ल्याउने गरी कानुनी व्यवस्थाको तयारी भइरहेको जानकारी गराउनुभयो । 

प्राधिकरणले आफ्नो २५औँ वार्षिकोत्सव एवम् रजत जयन्तीको अवसरमा विभिन्न प्रतियोगिताका विजयीहरूलाई सम्मान गरेको छ । 

यस्तै, २० बर्ष सेवा अवधि पूरा गर्ने दुई कर्मचारीलाई दीर्घ सेवा पदकले सम्मान गर्नुका साथै उत्कृष्ट कर्मचारी उपनिर्देशक डा.प्रदीप पौडेललाई सम्मान गरेको छ । 

भिडियो :

प्रतिक्रिया राख्नुहोस्

Back to top button