तपाईँ सुन्दै हुनुहुन्छः

सुवासचन्द्र नेम्वाङसहितको टोलीद्वारा विभिन्न दलका नेताहरूसँग भेट

राष्ट्रपति निर्वाचनमा सहयोग गर्न आग्रह

काठमाडौँ । नेकपा एमालेका तर्फबाट राष्ट्रपतिका उम्मेदवार सुवासचन्द्र नेम्वाङसहितको टोलीले आज विभिन्न राजनीतिक दलका नेताहरूसँग भेटघाट गरी निर्वाचनमा सहयोग गर्न आग्रह गरेको छ । 

एमाले प्रतिनिधि मण्डलले नेकपा एकीकृत समाजवादीका नेताहरूसँग भेट गरी राष्ट्रपति पदका उम्मेदवार सुवासचन्द्र नेम्वाङको पक्षमा मतदान गर्न आग्रह गरेको एकीकृत समाजवादीले जनाएको छ । 

एकीकृत समाजवादीको केन्द्रीय कार्यालय आलोकनगरमा भएको भेटवार्तामा नेकपा एमालेका तर्फबाट राष्ट्रपतिका उम्मेदवार नेम्वाङसहित नेताहरू विष्णुप्रसाद पौडेल, पृथ्वीसुब्बा गुरुङ, रघुवीर महासेट र डा.विमला पौडेल सहभागी हुनुभएको थियो भने नेकपा एकीकृत समाजवादीका तर्फबाट अध्यक्ष माधवकुमार नेपालसहित प्रमेश हमाल, डा.बेदुराम भुषाल, प्रकाश ज्वाला, रामचन्द झा लगायतका नेताहरू सहभागी हुनुभएको थियो । 

भेटमा राष्ट्रपतिका उम्मेदवार सुवास नेम्बाङले मत माग्नुभएको र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले मत माग्नुभएकोमा नेम्वाङलाई धन्यवाद व्यक्त गर्नुभएको अध्यक्ष नेपालका स्वकीय सचिव मोहन गौतमले जानकारी दिनुभयो । 

नेकपा एकीकृत समाजवादीले यस अगाडि आठ दलीय गठबन्धनका तर्फबाट राष्ट्रपतिको उम्मेदवार बन्नुभएका नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलको पक्षमा मतदान गर्ने निर्णय गरिसकेको छ । 

यस्तै एमाले प्रतिनिधि मण्डलले आज नै राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछाने सहितका नेताहरूसँग भेट गरी निर्वाचनमा सहयोग गर्न आग्रह गरेको छ । 

भेटपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै राष्ट्रिय स्वतन्त्र पार्टीका महामन्त्री मुकुल ढकालले एमाले प्रतिनिधि मण्डलले राष्ट्रपति निर्वाचनमा सहयोग गर्न आग्रह गरेको र आफूहरूले पार्टीको आन्तरिक छलफलपछि निर्णय लिने जानकारी गराएको बताउनुभयो ।

महामन्त्री ढकालले पुस १० गते सरकार गठनको समयमा भएको सहमति आफूहरूले मनन गरेको र त्यसलाई मध्यनजर गरेर निर्णय गर्ने बताउनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button