अनुमतिबिना ड्रोन उडाउनेलाई कारबाही गरिने

सुनसरी । सुनसरीमा अब कुनै पनि ड्रोन उडाउन अनुमति लिनुपर्ने भएको छ ।
जिल्ला प्रशासन कार्यालय सुनसरीले आइतबार एक विज्ञप्ति जारी गर्दै अनुमति नलिई ड्रोन उडाउने व्यक्ति माथि कारबाही गर्ने चेतावनी दिएको छ ।
अत्यावश्यक कामका लागि दुई केजीभन्दा कम तौलका ड्रोन उडाउनका लागि प्रयोगकर्ताले जिल्ला प्रशासन कार्यालय सुनसरीबाट अनुमति लिनुपर्ने हुन्छ ।
त्यस्तै दुई केजीभन्दा माथि तौल भएका ड्रोन उडाउन प्रयोगकर्ताले गृह मन्त्रालयबाट अनुमति लिनुपर्ने विज्ञप्तिमा उल्लेख गरिएको छ । मानवरहित हवाई उपकरण उडान कार्यविधि २०७५ मा ड्रोन उडाउन विभिन्न निकायबाट अनुमति लिनुपर्ने व्यवस्था रहेको छ ।
पछिल्लो समय विभिन्न व्यक्ति तथा निकायले अनुमति नलिई अनधिकृत रूपमा ड्रोन उडाएको जानकारी आएपछि जिल्ला प्रशासन कार्यालय सुनसरीले विज्ञप्ति जारी गर्दै त्यसो नगर्न सचेत गराएको छ ।

प्रतिक्रिया राख्नुहोस्