तपाईँ सुन्दै हुनुहुन्छः

सञ्चार क्षेत्रको जिम्मेवारी बढेको छ : मुख्यमन्त्री शर्मा

सल्यान । कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री राजकुमार शर्माले सञ्चार मिडियाले समाजको परिवर्तनमा निर्वाह गरेको भूमिका अतुलनीय भएको बताउनुभएको छ ।

उहाँले राजनैतिक व्यवस्था परिवर्तनमा सञ्चार क्षेत्रले खेलेको इतिहास गर्व गर्न लायक भएको बताउनुभयो । अब जनताको अवस्था परिवर्तनमा पनि पत्रकार र सञ्चार जगतले जिम्मेवारीपूर्ण भूमिका खेल्नुपर्नेमा उहाँले जोड दिनुभयो ।

file photo

सल्यानमा सञ्चालित सामुदायिक रेडियो शारदा एफएमको १५ औँ स्थापना दिवसको अवसरमा आयोजित ‘दिगो विकासमा सामुदायिक रेडियोको भूमिका’ विषयक भर्चुअल अन्तरक्रियामा मुख्यमन्त्री शर्माले समाजमा रहेका गलत संस्कार र संस्कृति रूपान्तरणमा सञ्चार क्षेत्रले योगदान गर्नुपर्ने बताउनुभयो ।

मुख्यमन्त्री शर्माले कर्णाली प्रदेशमा पत्रकार र सञ्चार माध्यमको सुरक्षा र वृत्ति विकासका लागि आफूले ध्यान दिएर काम गर्ने बताउनुभयो ।

प्रतिनिधि सभा सदस्य प्रकाश ज्वालाले सामुदायिक रेडियो आवाज विहीनहरूको साथी भएर किसान, मजदुर, महिलाहरूको पक्षमा काम गरिरहेको बताउनुभयो । भौतिक तथा मानवीय विकास वा जनतालाई सेवा प्रवाह गर्ने सन्दर्भमा शारदा एफएमले गरेको पैरवी उल्लेख्य रहेको उहाँले बताउनुभयो ।

कर्णाली प्रदेशका भूमि, कृषि तथा सहकारी मन्त्री भीमप्रकाश शर्माले विकास, सुशासन र जनताको जीविकोपार्जनका जस्ता विषयवस्तुलाई प्राथमिकता दिएर रेडियोले कार्यक्रम निर्माण गर्नुपर्ने बताउनुभयो ।

कर्णाली प्रदेश सभा सदस्य सुरेश अधिकारीले सल्यान लगायत पहाडी जिल्लामा सञ्चार पहुँच पुर्‍याउने माध्यम रेडियो भएकाले आर्थिक, सामाजिक क्षेत्रमा जागरण पैदा गर्नुपर्ने बताउनुभयो ।

सामुदायिक रेडियो प्रसारक संघ (अकोरयाव) अध्यक्ष अर्जुन गिरीले नेपालको सामाजिक तथा राजनैतिक परिवर्तनमा रेडियोहरूले खेलेको भूमिका महत्वपूर्ण रहेको बताउनुभयो । सरकारले सामुदायिक रेडियोहरूलाई नीतिगत रूपमै सहयोग गर्ने नीति लिन आवश्यक रहेको गिरीको भनाई छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button