तपाईँ सुन्दै हुनुहुन्छः

गणपुरक सङ्ख्या नपुगेपछि प्रतिनिधिसभा बैठक स्थगित

काठमाडौँ । प्रतिनिधिसभाको आजको बैठकमा सांसदहरूको गणपुरक सङ्ख्या नपुगेपछि बैठकको फागुन १५ गते सम्मका लागि बैठक स्थगित भएको छ । 

प्रधानमन्त्रीका तर्फबाट सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले पेश गर्नुभएको राष्ट्रिय सभाबाट सन्देशसहित प्राप्त भएको अनुगमन तथा मूल्याङ्कन विधेयक २०७८ माथि विचार गरियोस् भन्ने प्रस्ताव निर्णायार्थ पेश गर्न गणपुरक सङ्ख्या नपुगेपछि सभामुख देवराज घिमिरेले बैठक स्थगित गर्नुभयो । 

संसद्मा कुनै पनि विषय निर्णायार्थ प्रस्तुत गर्न सभाको एक चौथाइ सदस्य उपस्थित हुनुपर्ने संवैधानिक व्यवस्था अनुसार आजको प्रतिनिधिसभाको बैठकमा ६९ जना सांसदको उपस्थिति आवश्यक भएपनि प्रस्ताव प्रस्तुत गर्ने समयमा जम्मा ५० जना सांसदको मात्रै उपस्थिति रहेपछि बैठक स्थगित गरिएको हो ।

विधेयक माथिको सामान्य छलफलपछि सभामुख घिमिरेले विधेयक निर्णायार्थ प्रस्तुत गर्नुहुँदा नेपाली काँग्रेसका मुख्य सचेतक रमेश लेखकले नियमापत्ति जनाउँदै गणपुरक सङ्ख्या एकिन गर्न माग गर्नुभएको थियो । 

यसअघि, विधेयक माथिको सैद्धान्तिक छलफलमा भाग लिने सांसदहरुले विकास निर्माणका आयोजनाहरू निर्धारित लागत र समय सीमा भित्र सम्पन्न हुने सुनिश्चितताका लागि विधेयक अगाडि बढाउन आवश्यक रहेको बताउनुभयो ।

यस्तै, बैठकमा यस अधि शून्य समय र विशेष समयमा बोल्ने सांसदहरुले विभिन्न विकास आयोजनाहरू निर्धारित समयमा सम्पन्न गरी जनतालाई राहत दिन सरकारको ध्यानाकर्षण गराउनुभएको थियो । 

सांसदहरुले सडक, खानेपानी, सिँचाइ लगायतका विकास आयोजनाहरू निर्धारित समय भित्र सम्पन्न हुन नसक्दा जनताले दुःख पाएको र आयोजनाको लागत समेत बढ्न गएको प्रति सरकारको ध्यानाकर्षण गराउनुभयो ।

यस्तै, सांसदहरुले कृषि मल, बिउ तथा सिँचाई सुविधा उपलब्ध गराई किसानका समस्या समाधानका गर्न तथा राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्रमा बढ्दै गएको मानव–वन्यजन्तु द्वन्द्व नियन्त्रणका लागि प्रभावकारी कदम चाल्न सरकारसँग माग गर्नुभयो । 

यसैगरी, सांसदहरुले ठूला भ्रष्टाचारका कण्डहरुको प्रभावकारी छानविन गरी आर्थिक सुशासन कायम गर्न, सरकारी निकायमा विद्युतीय सवारी साधनको प्रयोग गरी पेट्रोलियम पदार्थको खपत कम गर्न तथा ट्राफिक प्रहरी कार्यालयहरूमा थुप्रिएका बेवारिसे सवारी साधन तथा कवाडीको व्यवस्थापन गर्न पनि सरकारको ध्यानाकर्षण गराउनुभयो ।

बैठकमा बोल्दै सांसदहरुले भैरहवा विमानस्थल सञ्चालनमा ल्याउन तथा कर्णाली प्रदेशमा हवाई सेवालाई नियमित गराउन पनि सम्बन्धित निकायको ध्यानाकर्षण गराउनुभयो । 

प्रतिनिधिसभाको अर्को बैठक यही फागुन १५ गते सोमवार दिउँसो १ः०० बजे बस्नेछ ।  

प्रतिक्रिया राख्नुहोस्

Back to top button