तपाईँ सुन्दै हुनुहुन्छः

नेपाल र नेपालीको हितको सुरक्षा गर्न परराष्ट्र नीति केन्द्रित हुनुपर्छ  : राष्ट्रपति भण्डारी

काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीले नेपालको परराष्ट्र नीति नेपाल र नेपालीको हितका लागि विश्व समुदायबाट अधिकतम सद्भाव जुटाउन केन्द्रित हुनुपर्ने बताउनुभएको छ । 

नेपाल विश्व सम्बन्ध परिषद्को आज काठमाडौँमा आयोजित ७५औँ वार्षिक उत्सव समारोहमा राष्ट्रपति भण्डारीले नेपालको छवि उच्च राख्न र नेपाल र नेपालीको हितको सुरक्षा गर्न परराष्ट्र नीति केन्द्रित हुनुपर्ने बताउनुभयो । 

राष्ट्रपति भण्डारीले पर्वतीय मुलुकहरूको विकास तथा भूपरिवेष्टित राष्ट्रहरूको पारवहन अधिकार सुनिश्चित गर्न नेपालले अन्तर्राष्ट्रिय मञ्चहरूमा निरन्तर पैरवी गर्नुपर्ने बताउनुभयो । 

राष्ट्रपति भण्डारीले विश्व व्यवस्थालाई न्यायमा आधारित बनाई दिगो शान्ति र  समृद्धिको माध्यमबाट जनताको जीवनमा परिवर्तन ल्याउन भूमिका खेल्नुपर्ने बताउनुभयो । 

उहाँले नेपालका दुई छिमेकी राष्ट्रहरू भारत र चीनले हासिल गरेको तीव्र आर्थिक विकास र समृद्धिबाट लाभ लिन सक्ने गरी कूटनीतिक क्षमता विकास गर्नुपर्ने पनि बताउनुभयो । 

कार्यक्रममा परराष्ट्रविद् भेषबहादुर थापाले युरोपको युद्ध, जलवायु परिवर्तन तथा कोरोना जस्ता विश्वव्यापी महामारीले परराष्ट्र नीति र अन्तर्राष्ट्रिय सम्बन्धमा चुनौती थपेको बताउनुभयो । 

नेपाल विश्व सम्बन्ध परिषद्का अध्यक्ष हेमन्त खरेलले दिगो विकासका लक्ष्यहरू हासिल हुने गरी अन्तर्राष्ट्रिय सहयोग र समर्थन जुटाउन नेपालले प्रभावकारी कूटनीतिक पहल गर्न जरुरी रहेको बताउनुभयो । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button