तपाईँ सुन्दै हुनुहुन्छः

गण्डकी प्रदेश सरकारद्वारा पाँच वर्षमा गरेका कामहरू र आगामी योजनाहरू समेटिएको पुस्तक सार्वजनिक

पोखरा । गण्डकी प्रदेश सरकार गठनको पाँच बर्ष पुरा भएको छ । बिहीबार प्रदेश सरकारले आफ्नो स्थापना वर्षको अवसरमा प्रदेश भर सार्वजनिक बिदा दिएको छ भने एक औपचारिक कार्यक्रमको समेत आयोजना गरि स्थापना दिवस मनाएको छ । 

उक्त कार्यक्रममा प्रदेश प्रमुख, वर्तमान मुख्यमन्त्री तथा पुर्वमुख्यमन्त्री, मुख्य न्यायाधीश, प्रदेश सरकारका मन्त्री, सांसद तथा पालिका प्रमुख र कर्मचारीहरूको सहभागिता रहेको थियो । सोही अवसरमा गण्डकी प्रदेश सरकारले पाँच वर्षमा गरेका कामहरू र आगामी कार्यक्रम तथा योजनाहरू समेटिएको एक पुस्तक समेत सार्वजनिक गरिएको छ । 

गण्डकी प्रदेश स्थापना वर्षको कार्यक्रमलाई सम्बोधन गर्दै प्रदेश प्रमुख पृथ्वीमान गुरुङले नेपालको संविधानले विगतको एकात्मक केन्द्रीकृत राज्य व्यवस्थालाई संघीय लोकतान्त्रिक शासन व्यवस्थामा रूपान्तरण गरेको बताउँदै प्रदेश सरकारले सङ्घीय गणतन्त्रात्मक व्यवस्था बमोजिम आफ्ना हरेक क्रियाकलापहरूलाई चुस्त दुरुस्त रुपमा सम्पादन गर्नुपर्नेमा जोड दिनुभयो । जनतालाई सङ्घीयताको आभास दिलाउने सरकार प्रदेश सरकार भएकोले जनताका अभिभारा सरकारले पुरा गर्नेमा आफु विश्वस्त रहेको बताउनुभयो । उहाँले प्रदेश सरकारले आफ्ना काम कारबाहीलाई जनमुखी नतिजामुखी र परिवर्तनमुखी बनाउन निरन्तर लाग्नुपर्नेमा समेत जोड दिनुभयो ।

मुख्यमन्त्री खगराज अधिकारीले समृद्ध नेपाल: सुखी नेपालीको राष्ट्रिय आकाङ्क्षालाई साकार पार्न प्रदेशको सन्तुलित समन्यायिक र समावेशी विकास गरी समृद्ध प्रदेश: सुखी नागरिक निर्माण गर्न पञ्चवर्षीय योजनाका साथ अगाडी बढेको बताउनुभयो । सीमित स्रोत साधन, अपर्याप्त जनशक्ति, कमजोर संस्थागत संरचना र साझा अधिकार विषयमा कानून अभाव लगायतका समस्याहरू प्रदेश सरकारको कार्यसम्पादनलाई धीमा पार्ने पक्षमा रहेको बताउनुभयो । मुख्यमन्त्री अधिकारीले १२ वटा मन्त्रालय रहेको हिजोको सरकारका भन्दा आधा मन्त्रालय घटाएर आफूहरूले काम गरेको बताउँदै जनताको नजिकको सरकार प्रदेश सरकार भएकाले प्रभावकारी ढंगले काम गर्ने प्रतिबद्धता जनाउनुभयो । 

उहाँले प्रदेश सरकार प्रभावकारी हुन नसकेको केही विषयहरू भएको बताउँदै ३ पटक प्रधानमन्त्रीसँग भेट गरि सङ्घीयता लाई बलियो बनाउन संविधानमा भएका साझा अधिकारका सूचीहरू पर्याप्त रुपमा कानुन बनाएर दिन आग्रह गरेको बताउनुभयो ।

गण्डकी प्रदेश सरकारले गरिबी सूचकाङ्क १४.२० प्रतिशतबाट ७ प्रतिशत झार्ने, प्रदेशको वार्षिक औसत आर्थिक वृद्धिदर १०.२० प्रतिशत पुर्‍याउने, प्रतिव्यक्ति आय १,०४३ अमेरिकी डलरबाट १,९५६ डलर पुर्‍याउने लक्ष्य राखेको छ । प्रदेशको कुल ग्राहस्त उत्पादन ३ खर्ब ८ अर्ब बाट ४ खर्ब ६८ अर्ब पुर्‍याउने र पूर्ण बेरोजगारी दरलाई ४ प्रतिशतमा झार्ने लक्ष्य गण्डकी प्रदेश सरकारको छ ।

कार्यक्रममा गण्डकी प्रदेश प्रमुख प्रतिपक्ष दलका नेता सुरेन्द्र पाण्डे, पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्य लगायतले शुभकामना मन्तव्य राख्नुभएको थियो । 

कार्यक्रममा उत्कृष्ट कार्यालय र उत्कृष्ट कर्मचारी समेत घोषणा गरिएको थियो । गण्डकी प्रदेश  स्थापनाको पाँच वर्षमा तीन जना मुख्यमन्त्रीको नेतृत्वमा चार वटा सरकार गठन भएका छन् । प्रदेश सरकार गठनको ५ बर्ष पुरा भएता पनि सङ्घीय सरकारले प्रदेश सरकारलाई अधिकार नदिँदा प्रदेश सरकारको कार्य सम्पादनमा समस्या सिर्जना भएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button