तपाईँ सुन्दै हुनुहुन्छः

रम्भा गाउँपालिकाले गाउँमै उत्पादन गर्‍यो ‘च्यावनप्राश’

पाल्पा । जिल्लाको रम्भा गाउँपालिकाले गाउँमै ‘च्यावनप्राश’ उत्पादन सुरु गरेको छ । नागरिक आरोग्य सेवा केन्द्र र रम्भा गाउँपालिकाले गाउँमै पाइने विभिन्न खालका जडीबुटीबाट पौष्टिक आहार ‘च्यावनप्राश’ उत्पादन गरेको हो ।

पालिकाभरिका ज्येष्ठ नागरिकलाई पौष्टिक आहारको रुपमा वितरण गर्ने गरी च्यावनप्राश उत्पादन गरिएको गाउँपालिका अध्यक्ष विष्णुप्रसाद भण्डारीले जानकारी दिनुभयो ।

उत्पादन गरिएको च्यावनप्राशमा अमलासहितका ४४ वटा जडीबुटीको मिश्रण रहेको छ । मिश्रण गरिएका जडीबुटीको मापदण्ड तयार गरेर बनाइएको र यसको सेवनबाट स्वास्थ्यका लागि फाइदा हुने नागरिक आरोग्य केन्द्रका कविराज मिलन आचार्यले बताउनुभयो । 

हालसम्म चार सय किलोग्राम च्यावनप्राश उत्पादन भइसकेको पालिकाले जनाएको छ  । च्यावनप्राश उत्पादन तथा निर्माणका लागि पालिकाले आवश्यक बजेट खर्च गरेको गाउँपालिकाका अध्यक्ष विष्णुप्रसाद भण्डारीले बताउनुभयो । गाउँमा रहेका जडीबुटी तथा वनस्पतिबाट च्यावनप्राश उत्पादन गरेर ज्येष्ठ नागरिकलाई पौष्टिक आहारका रुपमा वितरण गरिएको उहाँले जानकारी दिनुभयो । बजारबाट खरिद गर्दा बढी मूल्य र गुणस्तरमा पनि समस्या हुने भएकोले कम लगानीमा पालिकाले नै उत्पादन गरेको उहाँले बताउनुभयो ।

पालिकाभित्रका ७० वर्षभन्दा माथिका एक हजार २८२ ज्येष्ठ नागरिकलाई च्यावनप्राश वितरण गर्ने योजना रहेको पालिकाका प्रमुख प्रशासकीय अधिकृत भक्तुजंग रानाले बताउनुभयो । पालिकामै उत्पादन भएको च्यावनप्राशको प्रयोगबाट ज्येष्ठ नागरिकको स्वास्थ्यमा सकारात्मक परिवर्तन देखिने उहाँको विश्वास छ । व्यावसायिक रुपमा उत्पादन गर्ने भन्ने विषयमा भने हालसम्म कुनै योजना नरहेको पालिकाले जनाएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button