तपाईँ सुन्दै हुनुहुन्छः

प्रदेश राजधानी जोड्ने सडक स्तरोन्नतिको कामले पूर्णता पाउँदै

नवलपुर । नवलपरासी ( बर्दघाट सुस्तापूर्व ) नवलपुरको कावासोती स्थित फलफूल चोक–बोझापोखरी हुँदै कालिगण्डकी करिडोरलाई जोड्ने निर्माणाधीन सडक खण्ड अन्तर्गत दोस्रो खण्डको काम अन्तिम चरणमा पुगेको छ । 

जिल्लालाई गण्डकी प्रदेशको राजधानी पोखरा जोड्ने सडकका रुपमा समेत रहेको यस खण्ड पाँच वर्षको अवधिमा निर्माण सम्पन्न हुन लागेको हो । सडक स्तरोन्नतिको कामले पाँच वर्षमा पूर्णता पाउन लागेको हो ।

चालिस किलोमिटर लम्बाइएको सडकलाई दुई खण्डमा विभाजन गरि विस्तारको काम गरिएकोमा दोस्रो खण्ड बोझापोखरी – कोखेटार सडक विस्तारको काम अन्तिम चरणमा पुगेको सडक डिभिजन कार्यालय भरतपुरका इन्जिनियर राजेन्द्र महर्जनले बताउनुभयो । पहिलो खण्ड फलफूल चोक – कुमसोत बोझापोखरी खण्डमा भने ८० प्रतिशत काम सम्पन्न भएको उहाँले बताउनुभयो । 

नवलपुरको पहाडी क्षेत्रको प्रमुख पहुँच मार्ग साथै जिल्लालाई प्रदेश राजधानी पोखरासँग जोड्ने यस सडक खण्ड विस्तारको काम विसं २०७४ मा सुरु भएको थियो । तीन वर्षमा सम्पन्न गर्ने योजनाका साथ सडक विस्तारको काम सुरु भएको थियो । तर सो अवधिमा कामले गति लिन नसकेपछि पटक पटक म्याद थप गरिएको थियो । हाल  तेस्रो पटक म्याद थप पछि सडक निर्माणको काम  अन्तिम चरणमा पुगेको हो । सडक डिभिजन कार्यालय भरतपुरका इन्जिनियर महर्जनका अनुसार पछिल्लो पटक आउँदो चैत मसान्त सम्मका लागि म्याद थप गरिएको छ । दोस्रो खण्डमा निर्माणको काम भएपनि पहिलो खण्डमा भने अहिले काम रोकिएको छ । 

पहिलो खण्डमा कावासोतीको फलफूल चोक देखी १४ किलोमिटर कालोपत्रे र त्यस पछिको ६ किलोमिटर  ग्राभेल  गरिने छ ।  दोस्रो खण्डमा २० किलोमिटर ग्राभेल गर्ने गरि ठेक्का सम्झौता भएको हो । दोस्रो खण्डको काम अन्तिम चरणमा पुग्दा पहिलो खण्डमा हाल करिब असी प्रतिशत काम भएको छ । पहिलो खण्डमा पनि चैत सम्ममा काम सकिने इन्जिनियर महर्जनले बताउनुभयो । ‘दोस्रो खण्डको काम करिब सकिन लागेको छ, पहिलो खण्डमा हाल काम रोकिएको छ, तर ठेकेदारलाई ताकेता गरिरहेका छौँ काम सुचारु गर्न , काम सुरु भए धेरै समय लाग्दैन’ इन्जिनियर महर्जनले भन्नुभयो ‘चैत मसान्त सम्ममा पहिलो खण्डमा नियमित काम गरे सकिन्छ ।’ 

पहिलो खण्डमा सन्तोषी – रौताहा – हरिहरि जेभी र दोस्रो खण्डमा पप्पुकोशी – न्यौपाने – बन्धना भगवती जेभीले निर्माणको काम गरिरहेका छन्  । दुवै खण्ड गरि करिब रु ८४ करोड  ९८ लाख ८ हजार २४१ मा सडक निर्माणका लागि ठेक्का सम्झौता भएको हो ।

नवलपुरको पहाडी क्षेत्र छिचोल्दै कोखेटार स्थित  कालिगण्डकी करिडोरमा यो सडक जोडिने छ । यसपछि करिडोर हँुदै डेढगाउँ – भिमाद–खैरेनिटार – पोखरा जोडिने भएकाले फलफूल चोक – बोझापोखरी–कोखेटार सडकलाई महत्त्वका साथ हेरिएको छ । जिल्लाको पहाडी क्षेत्रको ‘ लाईफ लाइन ’ का रुपमा समेत यस सडक खण्डलाई  हेरिएको छ । ट्रयाक खोलिएको करिब दुई दशक पछि सडक विस्तारको काम भएको भएपनि सबै खण्डको थप स्तरोन्नति गरि कालोपत्रे गर्नुपर्ने यस क्षेत्रका बासिन्दाको माग रहेको छ । ‘यतिका वर्ष सडकले सास्ति खेप्नुपर्‍यो, अहिले केही राम्रो त भएको छ, तर थप स्तरोन्नति गरि सबै खण्डमा कालोपत्रे गर्न सके पहाडी क्षेत्रका बासिन्दालाई सहजता हुने थियो, प्रदेश राजधानी पोखरा आफ्नै प्रदेशको बाटो हुँदै जान समेत सहज हुने थियो ।’ स्थानीय कुलबहादुर ठाडाले भन्नुभयो । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button