तपाईँ सुन्दै हुनुहुन्छः

विराट गोल्डकपको तयारी तीव्र

काठमाडौं । मोफसलको सर्वाधिक चर्चित फुटबल प्रतियोगिता विराट गोल्डकपको तयारी तीव्र पारिएको छ । त्यसका लागि विराट गोल्डकप ट्रष्टले आफ्नो तयारीलाई तीव्रता दिएको जनाएको छ ।

विराटनगर महानगरपालिकाका मेयर नागेश कोइराला संरक्षक रहेको यो प्रतियोगिता विराटनगरको शहीद रंगशालामा चैत ९ गतेदेखि आयोजना हुने छ ।

रातिमा फल्र्ड लाइटमा खेलाइने प्रतियोगितामा ८ टिमले सहभागिता जनाउने भएका छन् । नेपाली र विदेशी टिमको सहभागितामा हुने प्रतियोगिताको पुरस्कार राशी पनि बढाउने तयारी भइरहेको विराट गोल्डकप प्रतियोगिताका सीईओ (कार्यकारी निर्देशक) सुवाशीश कोइरालाले जानकारी दिनुभयो ।

प्रतियोगिता सम्पन्न गर्नका लागि झण्डै २ करोड ५० लाख खर्च लाग्ने भएकाले प्रायोजक खोज्नेदेखि टिकट बिक्रीसम्मका योजनाहरू बनाएर अघि बढेको बताइएको छ ।

प्रतियोगितामा घरेलु टोलीको रूपमा विराटनगर सिटी एफसी रहेको छ । विराटनगर सिटी एफसीले पहिलो संस्करणको नेपाल सुपर लिग (एनएसएल) खेलेको थियो । यसका साथै संकटा, नेपाल पुलिस, त्रिभुवन आर्मी, मच्छिन्द्र र थ्रीस्टारले खेल्ने पक्का गरिसकेका छन् ।

कम्तीमा दुईवटा विदेशी टिमलाई पनि प्रतियोगितामा समावेश गर्ने गरी तयारी अन्तिम चरणमा पुगेको इभेन्ट म्यानेजर सरोज लम्सालले बताउनुभयो ।

प्रतियोगिताका लागि अहिले विराटनगरको शहीद रंगशाला मर्मतको काम भइरहेको छ ।

सुरुमा चैत ६ गतेदेखि प्रतियोगिता आयोजना गर्ने गरी आयोजकले तयारी अघि बढाए पनि अखिल नेपाल फुटबल संघ एन्फाले ए डिभिजन लिग आयोजना गर्न लागेकोले तीन दिन पर सरेको हो । एन्फाले पनि मोफसलमा हुने गोल्डकपहरूको क्यालेन्डर सार्वजनिक गरिसकेको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button